नेभिगेशन
समाचार

पार्टीको टिकट वितरणमा मनपरी नहोस् : केसी

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन् ।

केन्द्रीय सदस्य केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टी भित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए । उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गरे । उनले यदि संस्थापक पक्षले मनपरि गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए ।

केन्द्रीय सदस्य केसीले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्ने भन्ने कुरा नियम विपरीत हुने भएकोले यसबारेमा छलफल गर्नुपर्ने बताएका छन् । उनले गठबन्धनलाई सही बाटोमा लैजानका लागि र संविधानसम्मत अघि बढाउन जनतालाई र कार्यकर्तालाई केको आधारमा र कसरी गठबन्धनका दलबीच सिट बाँडफाँट भयो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए ।

उनले भने, ‘गठबन्धन परिस्थितिको बाध्यताका कारण बनेको हो । तर पनि संविधानलाई जोगाउनका लागि बनेको गठबन्धनले केका आधारमा सिट फाँडफाँट भयो भन्ने आधार जनता र कार्यकर्तालाई दिनुपर्छ । यो आधारमा यसरी सिट बाँडफाँट भयो भन्नेकुरा गठबन्धनले स्पष्ट रुपमा जनतालाई भन्नुपर्छ । मनपरि टिकट वितरण गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो त्यो लक्ष्य पूरा हुँदैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार