नेभिगेशन
समाचार

सिट बाँडफाँट २०७४ को आधारमा गरिनु पर्छ : झलनाथ खनाल

कैलाली - सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले गठबन्धनको मुख्य काम सीट बाँडफाँट रहेको जनाएका छन् । आउँदो निर्वाचनमा गठबन्धनभित्र रहेका दलहरूले पाउने सिटका विषयमा गृहकार्य भइरहेको उनले बताए । ‘कार्यदल बनाएका छौँ त्यसैले छलफल गरिरहेको छ’ उनले भने, ‘सिट बाँडफाँटमा २०७४ को निर्वाचनको आधारमा अगाडि बढ्ने हाम्रो बटमलाइन हो ।’ केही दिन पहिले खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गठबन्धन र सिट बाँडफाँट सम्मानजनक हुनुपर्ने बताएका थिए । भेटमा खनालले निर्वाचनपछिको सत्ता बाँडफाँटसम्मको विषय टुंग्याएर जानुपर्ने बताएको विषय बाहिरिएको थियो । तर, खनालले यसमा कुनै सत्यता नभएको प्रष्ट्याएका छन् । ‘प्रधानमन्त्री ज्यूसँग भेटघाट भएको हो तर, सिट बाँडफाँटको बिषयमा छलफल भएको छैन’ उनले भने, ‘भारतले चियापत्ति रोकिदिएपछि समस्या भएको छ । त्यसै विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन चिया उत्पादक, व्यापारी र विक्रेतालाई लिएर गएको थिए ।’ प्रधानमन्त्री देउवासँग आफूले नेपालको चिया संकटमा पर्न लागेको भन्दै यसको उपाय निकाल्ने विषयमा कुरा गरेको उनले बताए । ‘अरू विषयमा कुराकानी भएन । कुरा गर्नुपर्छ तर, अहिले होइन’, उनले भने । खनालले पहिलो चरणमा सिट बाँडफाँटको कुरा टुंगिने बताए । ‘त्यसपछिको कुरा छलफल चल्न पनि सक्छ नचल्न पनि सक्छ’ उनले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार