नेभिगेशन
समाचार

‘किसान मल नपाएर आक्रोशित छन्, सरकार किन मौन ?

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले रासायनिक मल नपाएर किसानमा आक्रोश बढे पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकको विशेष समयमा बोल्दै उनले मल नपाएर किसानमा आक्रोश बढे पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाएकी हुन् । ‘गत वर्ष सप्तरीका किसानहरुले रासायनिक मलका लागि आन्दोलन गरेका थिए । गएको असारमा धादिङका किसानहरुले दुई ट्रक रासायनिक मल सडकमै लुटेका थिए,’ संग्रौलाले भनिन्, ‘किसानहरुको आक्रोश बढ्दै छ । तर सरकार मौन छ ।’

गत साता मात्रै सरकारले भारत सरकारसँग ५ वर्षका लागि करिब ९ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको भन्ने समाचार पढ्न पाए पनि आश्वस्त हुन सक्ने वातावरण नभएको उनको भनाइ छ । ‘साउन १५ गतेलाई खिर खाने दिन पनि भनिन्छ । यदि यस्तै स्थिति रह्यो भने खिरको त कुरै छोडौं, बहुसंख्यक नेपालीले भात पनि खान नपाउने स्थिति आउने छ,’ संग्रौलाले भनिन् । सरकारले भारत सरकारसँग गरेको जी-टू-जी सम्झौताअन्तर्गत ल्याउन खोजेको मल दुई देशबीचको खरिदसम्बन्धी कानुनलाई मिलाउन समस्या भएकोले आउन नसकेको बताइन्छ । ‘

यदि त्यसो हो भने संसद चलिरहेको छ, सार्वजनिक खरीद ऐन संशोधन गर्न के ले रोकेको छ? के नयाँ चुनाव भए पछि मात्रै संशोधन गर्ने हो? कि, अरु कुनै कारण छ, जवाफ चाहियो,’ उनले भनिन्, ‘मलको अभावमा देश भित्रै प्रांगारिक मल उत्पादन गर्ने हाम्रो योजना खोइ ? रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार