नेभिगेशन
जीवनयापन

प्रतिनिधिसभामा कारागार विधेयकमाथि छलफल जारी

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा अहिले कारागार विधेयक, २०७६ माथि छलफल भइरहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेश गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक २०७६ माथि छलफल भइरहेको हो । छलफलमा भाग लिने सांसदहरुले विधेयकले कारागारहरूको भौतिक अवस्थामा सुधार ल्याउन तथा कैदीबन्दीहरु माथिको न्यूनतम मानवीय व्यवहार सुनिश्चित गर्न ध्यान दिनुपर्ने बताए । सांसदहरुले कारागारमा रहेका कैदीबन्दीहरुलाई आर्थिक गतिविधिमा लगाउन, खेलकुद र मनोरञ्जनको पर्याप्त अवसर दिने, मतदानलगायत आधारभूत अधिकारहरू सुनिश्चित गर्ने जस्ता पक्षहरूमा ध्यान दिन सके कारागारलाई सुधार गृहमा रूपान्तरण गर्न सकिनेमा जोड दिए । यसअघि प्रतिनिधिसभाको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेश गरे । यस्तै, बैठकको सुरुमा सांसदहरुले बाढी पहिरोले क्षति पुर्‍याएको देशको विभिन्न भागका सडकको समयमै पुनर्निर्माण गर्नुपर्ने, धान रोपाइँ सकिन लाग्दा समेत किसानले मल नपाएर हैरानी खेपिरहनुपरेको, सिँचाइ नहरहरूमा क्षति पुगेका कारण मधेश प्रदेशका विभिन्न भागमा रोपाई हुन नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए । यस्तै, सांसदहरुले बैङ्कहरूले तरलता अभाव देखाएर कृषि ऋण समेत बन्द गर्दा किसानहरू समस्यामा परेकोमा सरकारको ध्यानाकर्षण गराए । बैठकमा सांसदहरुले दाइजोको नाममा महिला माथिको हिंसा नरोकिएको भन्दै नेपाल प्रहरी, महिला आयोग, मानवअधिकार आयोग जस्ता निकायलाई सक्रिय बनाउन तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन