नेभिगेशन
समाचार

नागरिकताबारेको प्रतिबद्धता पूरा गरेको छु : प्रचण्ड

सर्लाही - सत्ता साझेदार दनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता नपाएका नागरिकको समस्या समाधान भएको बताएका छन् । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने व्यवस्थासहितको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको भोलिपल्ट मधेस प्रदेश पुगेका प्रचण्डले यस्तो बताएका छन् ।

सर्लाहीको वागमती नगरपालिकामा आज (शनिबार) आयोजित कार्यक्रममा प्रचण्डले नागरिकता समस्याको समाधान गर्ने यसअघिको आफ्नो प्रतिबद्धता पूरा भएको बताए छन् । ‘’तराई-मधेसको नागरिकता समस्या आउने सदनमा हरहालतमा समाधान गरिनेछ भनेको थिएँ । त्यसको समाधान, हिजोबाट नागरिकताको समस्या समाधान गर्ने निणर्य गर्‍यौं,’ उनले भने ।

नागरिकता विधेयक पारित गरेको जस लिँदै प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बलियो बनाउन आग्रह गरेका छन् । ’परिवर्तनका एजेण्डा स्थापित गर्ने पार्टीलाई बलियो बनाएर मात्रै जनताको समृद्धिको आकांक्षा पूरा हुनेछ,’ उनले थपे, ‘गणतन्त्र सम्भव छैन भनेर कराउने मान्छे चिन्नु भएको छ । संघीयताविरुद्ध प्रचार गर्ने मान्छे पनि चिन्नु भएकै छ । गत सालमा संविधान खारेज गरी संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने र प्रतिगमनतिर देशलाई लैजाने, मुस्लिम, दलित, आदिवासी, मधेसीले पाएको अधिकार खारेज गरियो त्यो आन्दोलन गरेर प्रतिगमन असफल पारियो ।’

अहिले पनि मुलुकमा संघीयता र गणतन्त्र असफल पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । उनले कसले त्यस्तो गरिरहेको हो भन्ने उल्लेख नगरे पनि त्यसलाई असफल बनाउन माओवादीले पार्टी संघर्ष गर्ने बताए । प्रचण्डले मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन हुने बताए । त्यो निर्वाचनमा आफ्नो पार्टीलाई बलियो बनाउन आग्रह गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा हक, अधिकार र पहिचानको सुनिश्चितता हुने बताए ।

प्रचण्डले नेपालमा राजनीतिक स्थायित्वका निम्ति चीन र भारतबीच राम्रो सम्बन्ध बनाउनुपर्ने पनि बताए । ‘नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकीहरू चीन र भारतसँग सन्तुलित र राम्रो सम्बन्ध बनाउनुपर्छ । नेपालमा स्वाधिनता, राजनीतिक स्थिरता, विकास र समृद्धिको निम्ती हामीले सबैसँग हातेमालो गर्नुछ,’ उनले भने । हालैको भारत सम्बन्ध र चिनियाँ नेताहरूसँग काठमाडौंमा भएको भेटवार्ता उल्लेख गर्दै दाहालले दुवै मुलुकसँग राम्रो सम्बन्ध बनाइराखे विकास र स्थिरता हुने बताएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार