नेभिगेशन
समाचार

आम निर्वाचनमा २० देखि २५ सिट ल्याउन कसैले रोक्न सक्दैन : नेपाल

काठमाडौँ - सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको डम्फू मात्रै बजाएर बस्न नसकिने चेतावनी दिएका छन् ।

आउँदो मंसिर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फू मात्रै बजाएर बस्न नसकिने बताएका हुन् । पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले आज (शनिबार) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सुदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरूले आफूहरूलाई सहयोग नगरेको अध्यक्ष नेपालको भनाई थियो । उनले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी समेत गरे । स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौ लाख २७ हजार भोट पाएको उल्लेख गर्दै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे ।

उनले भने, ‘अहिले तपाईहरूलाई थाहा छ-हामीले स्थानीय तह निर्वाचनमा भाग लियौँ । अब मंसिर महिनामा चुनाव आउँदैछ । सम्भवतः मंसिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अव कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अब डम्फू बजाउने होइन । अव यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो । त्यो बेला हामीले गठबन्धन भएपछि त जितिहालिन्छ । त्यसो हुनाले हामीले स्थानीय तह निर्वाचनमा मेहनत कम गर्‍यौँ । संगठन बनाउने कुरामा ध्यान कम दियौँ । संगठन विस्तार गर्ने कुरामा ध्यान कम दियौँ । फलस्वरूप हामीले गठबन्धन दलबाट जति सहयोग पाउनुपर्ने हो, जति महत्व पाउनुपथ्र्यो, त्यो पाउन सकेनौँ ।’

‘तर पनि चिन्ता गर्नुपर्ने कुरा के छैन भने हामीले उठाएका उम्मेदवार जम्मा करिब २८ प्रतिशत थिए । तर हामीले भोट कति ल्यायौ थाहा छ ? नौ लाख २७ हजार । सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउँथ्यौँ होला । २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन । यो कुरालाई बुझ्नुपर्ने आवश्यकता छ । नेपाली काँग्रेस एउटा शक्तिको रूपमा उदाएको छ ।’

उनले थपे, ‘हिजो देखिको इतिहास भएको हुनाले एमाले पनि खुम्चिँदै गएको भएता पनि त्यो दोस्रो शक्तिको रूपमा छ भने अनि माओवादीले पनि यस बीचमा जनयुद्ध लडेर आउने क्रममा आफ्नो हैसियत देखाएको छ भने हाम्रो पार्टी यति छोटो समयमा विद्रोह गरेर, नयाँ क्रान्तिकारी चेत लिएर आएको हाम्रो पार्टीले आफ्नो छुट्टै शक्ति देखाउन अवस्था छ । अहिले हाम्रो प्रतिनिधिसभामा समानुपातिकसहित २४ सिट छ । १२ जना प्रत्यक्षबाट निर्वाचित छौं हामी प्रतिनिधिसभामा । त्यसलाई त घटाउन सक्दैन कसैले पनि । त्यो हुनाले अरू पार्टी भन्दा हाम्रो हैसियत कमजोर हुने होइन नि ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार