नेभिगेशन
समाचार

सरिता गिरी सद्भावना पार्टीमा फर्किइन्

काठमाडौँ - पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा फर्किएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका छन् । गिरीले पनि आफू पुरानो घरमा फर्किएको भन्दै खुशी व्यक्त गरेकी छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमबीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको बताइन् ।

उनले भनिन्, ‘म आज सदस्यको रूपमा उपस्थिति भएको छु । मैले सद्भावना पार्टी कहिल्यै पनि परित्याग गरेको थिइनँ । यो गजेन्द्रबाबुले स्थापना गरेको पार्टी हो । उहाँकै योगदानको कारण आज मुलुकमा सङ्घीयता आएको हो । मैले आपराधिक तत्त्वबाट पार्टी जोगाएको थिएँ । पछि नेपाल सद्भावना पार्टीको अस्तित्व रहेन । अहिले युवाहरू हुनुहुन्छ । तपाईँहरूले पार्टीलाई अघि बढाउनु भएको छ । म खुशी छु ।’

गिरीले मधेस, नेपाल र सङ्घीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् । उनले भनिन्, ‘यो २०४७ सालमा स्थापना भएको सङ्घीयतावादी र मधेसवादी पार्टी हो । मैले जहाँबाट व्यवहारिक राजनीतिको क, ख, ग सिकेको थिएँ, म गजेन्द्रबाबुराको शिष्य हुँ । म पुनः यस घरमा आएँ । म ईश्वरप्रति आभारी छु ।’

कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य नागेन्द्रकुमार सिंह, कार्यक्रमको सभा अध्यक्ष समेत गरेका केन्द्रीय अध्यक्ष रामकुमार महतो, केन्द्रीय सदस्यहरू सुनितादेवी महतो, सत्यनारायण प्रसाद रौनियार, भरतप्रसाद साह, जयनारायण यादवलगायतले आ-आफ्नो धारणा राखेका थिए । सो क्रममा नेता गिरीलाई सदस्यता नवीकरणको प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार