नेभिगेशन
समाचार

गठबन्धनको नाममा कांग्रेसले बलजफ्ती गर्‍यो, यो स्वीकार्य हुँदैन : श्रेष्ठ

काठमाडौँ - सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनका नाममा बलजफ्ती गरिरहेको र यो सँधै स्वीकार्य नहुने बताएका छन् ।

आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस् । हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन सक्दैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ। गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’

उनले विधेयक पारित गर्दा अपनाएको प्रक्रिया र वैवाहिक अंगीकृत नागरिकताको विषयमा गरिएको व्यवस्था गलत भएको बताएका छन् । श्रेष्ठले भनेका छन्, ‘सात वर्षको प्रावधान हाम्रा नेपाली महिला छोरी, दिदी बहिनीहरूले विदेशी पुरूषसँग विवाह गरेकोमा छिमेकी देशहरूले सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरेको व्यवस्था समेतलाई ध्यान दिएर राखिएको थियो । नेपाली नागरिक महिलाले विदेशी पुरूषसँग विवाह गरेकोमा सम्बन्धित पुरूषलाई भने वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था नै गरिएको छैन । यो अलग्गै विषय हो ।’ उनले नागरिकता संवेदिनशील विषय भएको हुँदा राष्ट्रिय सहमतिको आधारमा निर्णय होस् भन्ने चाहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार