नेभिगेशन
समाचार

समाजवादी केन्द्र निर्माणको टुङ्गो सम्भवतः केही दिनमै लाग्छ : प्रचण्ड

जनकपुर - सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका दलहरुसँग एकताको प्रयास चलिरहेको बताएका छन् ।

आज (शनिबार) जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले गठबन्धनभित्रका वामपन्थी दलहरुसँग राम्रो समझदारी बनाउन पर्ने बताएका छन् । उनले भने, ‘गठबन्धनभित्रका वामपन्थी दलहरुसँग राम्रो समझादारी बनाउन पर्छ । सके चुनावी खालको विशेष मोर्चा पनि हुनसक्छ, पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ । छलफल चलिरहेको छ ।’

प्रचण्डले केही दिनभित्रै समाजवादी केन्द्रको बारेमा एउटा निर्णयमा पुग्ने बताए । ‘सम्भवतः केही दिनभित्र हामी एउटा निणर्यमा पुग्छौं’, उनले भने । उनले जनता समाजवादी पार्टी फुटिसकेको, औपचारिक घोषणा हुन मात्र बाँकी रहेको पनि बताएका छन् ।

‘बाबुरामजीहरुको जनता समाजवादी पार्टी फुटिसकेको छ, त्यसको औपचारिकता दिन मात्र बाँकी छ । त्यो सँगै दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ,’ प्रचण्डले थपे, ‘उपेन्द्रजीसँग नेतृत्व गरिरहेको पार्टीसँग हामी गठबन्धनमा पनि सँगै छौं । बाबुरामजीले अर्को बनाउने पार्टी पनि गठबन्धनभन्दा बाहिर हामी हुँदैनौं भन्नु भएको छ । यसकारण उहाँहरु गठबन्धनबाट बाहिर जाने अवस्था छैन ।’ माधव नेपाल, बाबुराम भट्टराई, वामदेव गौतम र आफूसहितका नेताहरु सो अभियानमा लागेको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली कांग्रेस नेत्री आरजु देउवा र आफूबीच कुनै सम्झौता नभएको प्रष्ट्याएका छन् । उनले भारत भ्रमणका क्रममा संयोगले कांग्रेस नेत्री देउवासँग भेट भएको बताए । यसलाई केही व्यक्तिले षडयन्त्रपूणर् तारिकाले भ्रम सिर्जना गरेको उनको भनाइ थियो ।

‘दिल्लीमा आरजु देउवा र मेरोबीचमा कुनै पनि प्रकारको सम्झौता भएको छैन’, प्रचण्डले भने, ‘केही षडयन्त्रकारीले यसलाई तन्काएर षडयन्त्रपूणर् तरिकाले उठाउन खोजेका छन् । यसमा कुनै पनि प्रकाराको सत्यता छैन ।’ सर्लाहीमा आयोजना हुने माओवादीको कार्यक्रममा सहभागी हुन उनी जनकपुर पुगेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार