नेभिगेशन
समाचार

अहिले ‘मिथ्या सूचना’ को जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

हेटौंडा - नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन् । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै उनले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादितरुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।’ उनले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजितरूपमै लाञ्छना लगाउने क्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे । उनले भने, ‘परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ ।’ उनले अहिले नेपालमा मिथ्या सूचनाको जोखिम बढेको बताएका छन् । कोभिड-१९ मा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने उल्लेख गरे । लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिता जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार