नेभिगेशन
समाचार

प्रदेश-१ को नाम ‘किरात’ नराखे ठूलो लडाइँ हुन्छ : मुख्यमन्त्री राई

मोरङ - प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम ‘किरात’ नराखे देश विखण्डनसम्म पुग्ने र ठूलो लडाइ हुने बताएका छन् । प्रदेश-१ को नाम किरात राख्न माग गर्दै स्मरण पत्र बुझाउन गएको किरात राई यायोख्खाको टोलीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश-१ को नाम किरात नराखे ठूलो हुने बताएका छन् । आफू किरातको पक्षमा रहेको भन्दै किरातको पक्षमा उठेको आन्दोलनमा मूलधारका पार्टी र नेताहरुले कम आँकेको पनि बताए ।

उनले प्रदेशको नाम किरात नराखे विस्तारै आन्दोलन उठेर भुसको आगो जसरी सल्किँदै जाने चेतावनी समेत दिए । मुख्यमन्त्री कार्यालयमा भएको कार्यक्रममा उनले भने, ‘भोलि कुनै पनि बेला ठूला ठूला लडाइँ झगडाको अवस्था आउने मात्र होइन, भोलि देश नै विखण्डनको अवस्था आउनसक्छ ।’

उनले किरात प्रदेश नाम राखेर देशमा शान्ति हुन्छ भने दिनुपर्ने पनि बताएका छन् । पुरानो इतिहास, पुराना कागज तमसुक, पुराना ढड्डामा किरात भन्ने शब्द लेखिएकोले किरात प्रदेश न्यायोचित रहेको उनले बताए। किरात भन्ने शब्द उहिल्यैको कागजपत्रमा रहेको पनि राईको तर्क छ ।

उनले मधेश प्रदेश नाम राख्दा पनि केही नबिग्रिएको उदाहरण समेत दिए । ‘मधेश प्रदेश राख्दा केही बिग्रिएको छ त ?’, मुख्यमन्त्री राईले प्रश्न गर्दै भने, ‘दिँदा केही बिग्रिँदैन, तर नदिँदा यहाँ अशान्ति हुन्छ, मान्छे असन्तुष्ट हुन्छ, विद्रोहको भावना आउँछ भने त्यो किन नदिने ? त्यस्तो मूर्खता कुरा पनि गर्ने हो ?’

उनले पहिचानविरोधी नाम आउनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै मुख्यमन्त्री राईले पहिचानको पक्षमा नदेखिएका समूहलाई फकाउने वा दबाउनतर्फ लाग्नुपर्ने बताए । पार्टीहरू पहिचानको पक्षमा नउभिएको अवस्थामा सांसदहरुलाई त्यसमा उभ्याउने गरि फकाउन सम्झाउन पनि उनले आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार