नेभिगेशन
समाचार

एम. अधिकारी गभर्नर नभएको एमालेको दाबी, तर विभागका सदस्य अधिकारीबारे अझै खुलाएन

काठमाडौँ– नेकपा एमालेले आफ्नो अर्थ तथा योजना विभागमा सदस्य रहेका खोटाङका एम अधिकारी अहिलेका गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेको छ । बिहीबार सार्वजनिक भएको पत्रमा एमाले कार्यालयका सचिव डा‌. भिष्म अधिकारीले लेखेको पत्रमा विभागको  सदस्यका रुपमा रहेका एम. अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको जिकिर गरिएको छ । पत्रमा सार्वजनिक पदमा रहेका ब्यक्तिलाई पार्टीको सदस्य राख्ने नीति नभएको दाबी पनि गरिएको छ । त्यसअघि, गभर्नर अधिकारीले एमाले पार्टी कार्यालयमा पत्र लेखि विभागका सदस्य एम. अधिकारी (खोटाङ) अहिलेका गभर्नर अधिकारी नै  रहेको दाबीसहितका समाचार प्रकाशित हुनुका साथै सामाजिक सञ्जालमा समेत चर्चा भएकोमा यसबारे स्पष्ट पारिदिन आग्रह गर्दै एमाले केन्द्रीय कार्यालयमा पत्र पठाएका थिए । त्यसको जवाफमा एमाले सचिव डा. अधिकारीले जवाफ पठाएका हुन् । पछिल्लो समय घनश्याम भुसाल संयोजक गरेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम. अधिकारी रहेको विवरण सार्वजनिक भएपछि गभर्नर अधिकारी नै रहेको भन्दै चौतर्फी विरोध भइरहेको छ । गभर्नर कुनै दलमा आवद्ध हुन नहुने कार्यविधी रहेकाले उनले राजिनामा दिनुपर्ने माग पनि उठिरहेको छ । यसैबीच भुसालले पनि एम अधिकारी अहिलेका गभर्नर नभएको जिकिर गरेका छन् । विभाग प्रमुख भुसाल र एमाले कसैले पनि एम अधिकारी को हुन् भनेर भने खुलाएको छैन । यसअघि २०७३ सालमा पनि अधिकारीले एमालेको अर्थ समितिमा आफु रहेको समाचार सार्वजनिक भएको तर उक्त ब्यक्ति आफु नभएकाले यसबारे स्पष्ट पार्न एमालेलाई पत्र पठाएका थिए । उक्त पत्रको जवाफमा तत्कालिन एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पठाएको पत्रमा भनिएको छ– ‘तपाईंले आफू पार्टी केन्द्रीय अर्थ तथा योजना विभागको सदस्य नरहेको भनि दिएको पत्रका आधारमा पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यहरुको नाम रुजु गर्दा उक्त नाम भूलवश पर्न गएको र सो नाम अन्तिम नामावलीमा नरहेको हुँदा तपाईंको यस विभागसँग कुनै सम्बन्ध नरहेको व्यहोरा अवगत गराउँदछु ।’ अधिकारीले २०७३ जेठ २५ गते आफूलाई अर्थ तथा योजना विभागको सदस्यमा मनोनित गरिएकोप्रति ध्यानाकर्षण गर्दै आफू कुनै दलमा नरहेको र तत्काल कुनै दलको सदस्यता लिने सोच समेत नभएकाले उक्त नाम हटाइदिन आग्रह गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार