नेभिगेशन
समाचार

जसपा विभाजन : उपेन्द्र पक्षले दुई अध्यक्षको व्यवस्था हटाउने, बाबुरामले नयाँ पार्टी खोल्ने

काठमाडौँ - संसदको पाँचौं शक्ति जसपा राजनीतिक रूपमा विभाजित भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको छुट्टाछुट्टै विस्तारित वैठकले पार्टीलाई राजनीतिक रुपमा विभाजनतिर लगेको हो । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ । कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षले भट्टराईसहितका नेतालाई कारबाहीको प्रक्रिया अगाढि बढाएको छ । काठमाडौंको जडिबुटीमा भट्टराई पक्षीय केन्द्रीय समितिको मंगलबार र बुधबारको विस्तारित बैठकले समावेशी चरित्रको पार्टी गठन गरेर अघि बढ्ने निर्णय गरेको हो । अब यो समूह दलको कानुनी प्रक्रियाका लागि निर्वाचन आयोग जाने तयारी छ । बहुमत पुगे जसपालाई पुनगर्ठन गर्ने र नभए नयाँ दल बनाउने यो समूहको तयारी छ । मंगलबार राजनीतिक प्रतिवेदन पेस गर्दै भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाउने वा निकटतम शक्तिहरूसँग एकीकरण गर्ने भन्नेबारे निर्णयको जिम्मा विस्तारित बैठकलाई दिएका थिए । डा. भट्टराईको प्रतिवेदनमा ११ वटै समूहमा छलफल भएको थियो । सबै समूहले नयाँ पार्टी गठन गरेर जानुपर्ने सुझाव दिएको नेता राजेश विद्रोहीले जानकारी दिए । ‘अन्त मन डुलाएर हुँदैन । प्रदेश र संघीय सरकारमा भ्रष्टाचार हुँदा, पार्टीमा एकलौटी निर्णय हुँदा त्यसलाई टुलुटुलु हेरेर बस्नु विकल्प होइन,’ समूहहरूको निष्कर्षबारे उनले भने, ‘समावेशी चरित्रको पार्टी गठन गरेर जानुपर्ने सुझाव आयो ।’ नयाँ पार्टीको मूल एजेन्डा समावेशिता, समृद्धि, सुशासन, संघीयता र समाजवाद हुनेछ । नयाँ पार्टी गठन गर्र्ने जिम्मा बैठकले कार्यकारिणी समितिका सदस्यहरूलाई दिएको छ । कार्यकारी समिति सदस्यहरूले नै नाम र कानुनी पाटोबारे निर्णय लिनेछन् । कार्यकारिणी समितिका भट्टराईसहित महिन्दा राय यादव, हिसिला यमी, गंगा श्रेष्ठ, डम्बर खतिवडा, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त सिंह, दुर्गा सोव, भक्तबहादुर शाह, अमृता अग्रहरि र रामनरेश यादव बैठकमा सहभागी थिए । सकभर बहुमत पुर्‍याउने नीति भट्टराई पक्षले लिएको छ । राजकिशोर यादवसहितका मध्यमार्गी नेतासँग भट्टराई पक्षले छलफल जारी राखेको बताएको छ । यादव पक्ष जातीय र क्षेत्रीय घेराबाट माथि उठ्न नसकेको निष्कर्ष भेलाले निकालेको छ । प्रदेश र संघीय सरकारमा पार्टी सहभागी भए पनि भ्रष्टाचारको साक्षी मात्र बस्नुपरेको निष्कर्ष पनि बैठकले निकालेको छ । बैठक समापन गर्दै भट्टराईले उपेन्द्र यादवको नेतृत्वमा पार्टी चल्न नसक्ने भएकाले जोखिम उठाएरै भए पनि अगाडि बढ्नुपर्ने बताएका छन् । आवश्यकताअनुसार एकता र ध्रुवीकरणको ढोका खुला रहने उनले बताएका छन् । जसपाको उपेन्द्र पक्षले दुई अध्यक्षको व्यवस्था हटाउने जनता समाजवादी पार्टी (जसपा) ले दुई अध्यक्षको व्यवस्था हटाउने भएको छ । पर्साको वीरगञ्जमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले विधान संशोधनको प्रस्ताव पेश गरेका छन् । जसमा एक मात्र अध्यक्ष रहने उल्लेख छ । जसपामा यसअघि एक संघीय परिषद् अध्यक्ष र दुई केन्द्रीय समिति अध्यक्षको व्यवस्था थियो । जस अनुसार संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई र केन्द्रीय अध्यक्षहरूमा उपेन्द्र यादव र महन्थ ठाकुर थिए । ठाकुरले जसपाबाट अलग भई लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिसकेकाले जसपाको एक अध्यक्ष रिक्त थियो । रिक्त रहेको एक अध्यक्ष पूर्ति नगरी दुई अध्यक्षको व्यवस्था नै हटाउने प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार