नेभिगेशन
समाचार

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन, शुक्रबार निर्वाचन

काठमाडौँ - प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता गरिँदै छ । २०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदैछ । त्यसअघि आज उपसभामुखका उम्मेदवारले उम्मेदवारी दिने भएका हुन् ।

बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन् । जसअनुसार उपसभामुखको निर्वाचन प्रक्रिया बिहीबार बिहान ११ बजे शुरु गर्ने कार्यक्रम छ । उपसभामुख पदका लागि आगामी शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुने विवरण संसद सचिवालयले जनाएको छ ।

तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए ।

संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् । केपी शर्मा ओली प्रधानमन्त्री रहुञ्जेल उनले डेढ वर्षसम्म उपसभामुख चयनतर्फ चासो दिएनन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ । एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादी बाहेकका दलबाट चुनिने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार