नेभिगेशन
विज्ञान प्रविधि

म्याद सकिएको समितिले रेडक्रसको छवि बिगारेको नयाँ तदर्थ समितिको आरोप

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीको नयाँ तदर्थ समितिले, पुरानो तदर्थ समितिले रेडक्रसको छवि बिगारेको आरोप लगाएको छ । सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै २०७८ साल पुसदेखि उत्पन्न भएको विवादका कारण रेडक्रसबारे अफवाहहरू फैलाएको र पुरानो तदर्थ समितिले गलत सूचना प्रवाह गरेर भ्रमित पारेको नयाँ समितिको आरोप छ । २०७७ साउन १२ गते केपी ओली नेतृत्वको सरकारले नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तीन महिनाका लागि तदर्थ समिति गठन गरेको थियो । तीन महिनामा सो समितिले अधिवेशन गराउन नसकेपछि राजपत्रमा सूचना निकालेर एक वर्षको म्याद थप गरी महाधिवेशन सम्पन्न गर्ने कार्यभार दिएको थियो तर समितिले त्यो एक वर्षमा अधिवेशन गराउन नसकेपछि अहिलेको सरकारले २०७८ पुस १४ मा सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गरेको थियो । त्यसयता पुरानो र नयाँ तदर्थ समितिबिच चर्को विवाद हुँदै आएको छ । नयाँ तदर्थ समिति गठन भएपछि पुरानो समितिका अध्यक्ष तिम्सिनाले अदालतमा आफूहरूलाई काम गर्न नदिएको, पदावधि नसकिँदै नयाँ समिति गठन गरेको लगायत दाबी गर्दै अदालतमा रिट दायर गरेका थिए । अदालतले तत्काल नयाँ तदर्थ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नू भन्ने आदेश दिँदै दुवै पक्षलाई झिकाउनु भन्ने आदेश दिए पनि त्यसयता पेशी तोकिएको छैन । नयाँ तदर्थ समितिका महामन्त्री भूपतिलाल श्रेष्ठले मुद्दाको सुनुवाइ नहुँदै दुवै समितिको म्याद सकिएको जानकारी दिए। नेपालको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गरेपछि तिम्सिनाले पुनः रिट हालेपछि अदालतले सरकारको अहिलेको निर्णयसमेत यथास्थितिमा राख्नु भन्ने आदेश गरेको छ । नयाँ तदर्थ समितिले पुरानो समितिका पदाधिकारीले कार्य अवधि समाप्त भए पनि कार्यालयमा आई हुल हुज्जत गरेको, तोडफोड गरेको र संस्थाको आधिकारिक लेटर प्याडको दुरुपयोग गरेको आरोप लगाएको छ । नयाँ तदर्थ समितिका अध्यक्ष नेपाल र महामन्त्री श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ,– ‘कार्यावधि समाप्त भइसकेपछि उहाँहरू कार्यालयमा आई हुल हुज्जत गर्ने, आफैँ हथौडा लिएर आई तोडफोड गर्ने गरेकाले प्रहरीले कार्यालयको सुरक्षा गर्नु पर्ने अवस्था सिर्जना भएको हो । संस्थाको आधिकारिक लेटरहेड प्रयोग गरी विभिन्न सङ्घ संस्थालाई भ्रम पुर्‍याउने खालको सञ्चार गर्ने, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय महासङ्घ, साझेदार संस्थाहरूलाई अनधिकृत इमेल लेखी मानवीय कार्यको सहयोग रोक्न लगाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय छविलाई धुमिल पार्ने जस्ता उहाँहरूका क्रियाकलापहरू अक्षम्य छन्, यसैबीचमा डा. नेत्रप्रसाद तिम्सिनाले अन्य मुद्दा पनि दायर गरी संस्थालाई थप अन्योलतर्फ लगि संस्थाको छवि धूमिल गर्ने र अस्तव्यस्त बनाउने प्रयत्न निरन्तर रूपमा गर्दै आउनुभएको छ ।’ उनीहरूले मङ्गलवार पनि पुरानो समितिका पदाधिकारीले कार्यालयमा तोडफोडको प्रयास गरेको आरोप लगाएका छन् । मङ्गलवार पत्रकार सम्मेलन गर्दै पुरानो तदर्थ समितिका अध्यक्ष तिम्सिनाले सरकारी शक्तिको दुरुपयोग गर्दै काम गर्न नदिएको आरोप लगाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्