नेभिगेशन
विज्ञान प्रविधि

विदेश पुर्‍याइएका मूर्ति कसरी ल्याइन्छ फिर्ता, कति ल्याइयो अहिलेसम्म ?

काठमाडौँ– विभिन्न समयमा नेपालबाट चोरी गरी विदेश पुर्‍याइएका मूर्तिहरू नेपाल फर्काउने क्रम चलिरहेको छ । पुरातत्त्व विभागका अनुसार हालसम्म ८४ थान मूर्ति तथा कला वस्तुहरू नेपाल ल्याइएको छ ।

अमेरिका, बेलायत, जर्मनीलगायत देशमा पुर्‍याइएका यस्ता पुरातात्त्विक महत्त्वका मूर्ति तथा कलावस्तुहरू विभिन्न मितिमा नेपाल ल्याइएको पुरातत्त्व अधिकृत सरिता सुवेदीले जानकारी दिइन् ।

सुवेदीका अनुसार सबैभन्दा धेरै अमेरिकाबाट २२ थान, तिब्बतबाट २८ थान बेलायतबाट १९ थान, कलकत्ताबाट १३ थान, तथा अस्ट्रिया र जर्मनीबाट एक एक थान मूर्ति तथा कला वस्तु नेपाल ल्याइएको छ ।

के हुन्छ प्रक्रिया ?

पुरातत्त्व अधिकृत सुवेदीका अनुसार विदेशका ठुला र चर्चित सङ्ग्रहालयमा राखिएका मूर्ति तथा कला वस्तुलाई नेपालीले पहिचान गरेपछि नेपाल ल्याउने प्रक्रिया सुरु हुने बताइन् । यसका लागि सबैभन्दा पहिला त विदेश पुर्‍याइएका मूर्ति तथा कला वस्तुको पहिचान हुनुपर्छ । घुम्न वा कामको सिलसिलामा विदेश पुगेकाहरूले यस्ता सम्पदाको बारेमा जानकारी गराउने गरेको अधिकृत सुवेदीले जानकारी दिइन् ।

यसरी जानकारी गराएपछि सम्बन्धित मठ मन्दिर र त्यहाँको समुदायमा गएर उक्त मूर्ति वा कला वस्तुका बारेमा जाँचबुझ गर्ने गरिएको सुवेदीको भनाइ छ ।

‘हामीले जानकारी पाएपछि अध्ययन सुरु गर्छौँ । स्वदेशी तथा विदेशी लेखकले लेखेको लेख, पुस्तक, समाचार केही भेटियो भने सबैभन्दा बलियो प्रमाण हुन्छ ।

यदि त्यस्तो नभेटिएको अवस्थामा पनि स्थानीय मठमन्दिरका पुजारी, धर्मगुरु, स्थानीय बुढापाकासँग सोधखोज गरेर प्रमाण जुटाउँछौँ । चोरी भएको मिति, बनेको मितिदेखि धेरै प्रमाण सङ्कलन गरेपछि बल्ल आफ्नो दाबी पेस गर्छौ’ सुवेदीले क्यानडा नेपालसँग भनिन् ।

पुरातत्त्व विभागले मूर्ति नेपाल ल्याउने अधिकार पाए पनि सिधै विदेशमा सम्बन्ध राख्ने अधिकार भने राख्दैन । पुरातत्त्व विभागले जुटाएका प्रमाणहरू परराष्ट्र मन्त्रालय पुग्छन् र त्यसपछि ती प्रमाण सम्बन्धित देशको राजदूत अथवा महावाणिज्य दूत हुँदै सम्बन्धित ठाउँमा पुग्ने सुवेदीको भनाइ छ । ‘सम्बन्धित देशमा भएको राजदूतावास वा महावाणिज्य दूतावासको सहकार्यमा सम्बन्धित मूर्तिसम्म पुग्छौँ’ सुवेदी बताउँछिन्, ‘अनि हाम्रो प्रमाण पुग्दो भएपछि सङ्ग्रहालय, विश्वविद्यालय वा अन्य कहाँ मूर्ति राखिएको छ, सम्बन्धित क्षेत्रसँग सम्झौता हुन्छ र बल्ल नेपाल ल्याइन्छ ।’ नेपाल पुर्‍याउँदासम्मको जिम्मेवारी कतिपय संग्रालयले नै लिन्छन् भने कतिपय अवस्थामा नेपाल सरकारले नै लिनु पर्ने सुवेदीको भनाइ छ । सुवेदीका अनुसार विक्री भइसकेका केही मूर्ति तथा कला वस्तु क्षतिपूर्तिसमेत माग दाबी हुने गरेको छ । अहिलेसम्म क्षतिपूर्ति तिरेर नेपाल मूर्ति तथा कला वस्तुहरु भने ल्याइएको छैन ।
किन हुन्छ चोरी ? सांस्कृतिक सम्पदाको विशिष्ट गुण, कौतूहल र सौन्दर्यबाट प्रभावित भएर यस्ता वस्तु सङ्कलन गरिने परम्परा प्राचीनकादेखि कै हो । विशेष गरी समाजमा अग्रस्थान राख्ने व्यक्तिहरूले नै सोखको रूपमा सांस्कृतिक वस्तुहरूलाई बढी रकम तिरी खरिद गरी सञ्चय गर्ने परम्पराको सुरुवातले सांस्कृतिक सम्पदाहरूको चोरी, ओसारपसार र अवैध निकासीमा टेवा पुग्ने गरेको पुरातत्त्व विभागले जनाएको छ । विभागका पुरातत्त्व अधिकृत सुवेदीका अनुसार सन् १९५० पूर्व नेपालबाट के कति सांस्कृतिक सम्पदाहरू बाहिरिए त्यसको रेकर्ड समेत पाइएको छैन । तर, विश्वका विभिन्न प्रख्यात सङ्ग्रहालयहरूमा प्रदर्शनमा राखिएका विशिष्ट किसिमका नेपाली कलाकृतिहरूले नेपालबाट हजारौँको सङ्ख्यामा महत्त्वपूर्ण कलाकृति बाहिरिएको कुरालाई भने नकार्न नसकिने विभागको निष्कर्ष छ ।
२००७ साल पछि नेपालमा भएको राजनीतिक परिवर्तनले गर्दा शिक्षाको विकास, जागरण र सम्पदाप्रति जनचेतना जगाएको सँगै, पर्यटनको विकासले सांस्कृतिक सम्पदाहरूको चोरी निकासी पनि हुन थालेको सुवेदीको भनाइ छ । पर्यटनको विकासले नेपालमा विशेष गरी ७०, ८० र ९० को दशकमा धेरै सङ्ख्यामा सांस्कृतिक सम्पदाहरू चोरी भएको देखिन्छ । सन् २००० देखि सांस्कृतिक सम्पदाहरूको चोरी र निकासी क्रमशः कम हुँदै गएको देखिएको विभागले जनाएको छ । यस अवधिमा चोरी भएका महत्त्वपूर्ण सम्पदाहरू पनि सुरक्षा निकायहरूद्वारा बरामद गरी पुरातत्त्व विभागमा पठाउने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्