माइती नेपाल फुटबल प्रतियोगिता : सयपत्री विजयी

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - माइती नेपालले आयोजना गरेको फुटबल प्रतियोगितामा श्रमिक महिलाको समूह सयपत्रीले जित हासिल गरेको छ । माइती नेपालको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार सानो गौचरनस्थित फुटबल मैदानमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

सोही मैदानमा स्याक रेस, स्पुन रेस, ताइकोन्डोलगायतका खेल पनि खेलाइएको थियो । स्काक रेस र स्पुन रेसमा माइती नेपालकी लक्ष्मी गौतमले जित हात पारिन् । कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले श्रमिक महिलाले कहिले पनि यसरी मैदानमा खेल्ने अवसर नपाएकाले उनीहरूको आँट, जोस र प्रतिवद्धता प्रशंसायोग्य रहेको बताइन् ।

सानो गौचरनको मैदानमा बालबालिकाहरूले प्रायः विभिन्न खेल खेलिरहने हुनाले उक्त मैदानलाई पनि राम्रो रंगशाला बनाउन पहल गरिनुपर्ने उनको भनाइ छ । बालबालिकालाई हातमा आइफोन वा अन्य कुनै फोन दिनुभन्दा उनीहरूलाई कुनै पनि शारीरिक खेलप्रति उत्प्रेरित गर्दा जीवनमा अगाडि बढ्न सक्ने कोइरालाले बताइन् । ’फोनले बच्चालाई कहिले ठूलो बनाउँदैन । फोन दिने अभिभावकले गलत गरिरहेकाले आफ्ना नानीहरूलाई खेल खेल्न हौसला दिनुपर्छ,’ उनले भनिन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रहरी प्रमुख अच्युतकृष्ण खरेल, कलाकार भुवन चन्द, बसुन्धरा भुषाल, चैतन्य मिश्रलगायतले खेलकुदका विजेताहरूलाई पुरस्कार वितरण गरे । पुरस्कार वितरण पछि बोल्दै प्रमुख अतिथी खरेलले खेल र जीवन एउटै रहेको र जसरी जीवनमा हरेक कुरा जितिँदैन, खेलमा पनि जित हार जे भए पनि स्वीकार्नु पर्ने प्रतिक्रिया दिए ।

कार्यक्रममा माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले जीवनमा विभिन्न ठक्करहरुको सामना गरेका दिदीबहिनीलाई समावेश गराएर खेल खेलाइएको बताए । खेलकुदका कार्यक्रममार्फत महिलाको आत्मसम्मान र आत्मबल बढाउनु मुख्य उदेश्य रहेको उनले जनाए । नेपालमा रहेको महिला हिंसा र मानव बेचबिखन अन्त्यको अभियानमा माइती नेपाल लागेकोमा यसको नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उनले औंल्याए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४३
प्रतिक्रिया दिनुहोस्