चिलीसँग ब्राजिलको फराकिलो जित

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ - कतार विश्वकप - २०२२ को लागि दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा ब्राजिलले चिलीविरुद्ध फराकिलो जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४-० गोल अन्तरले हराएको हो ।

ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक एक गोल गरे ।

खेलको ४४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा जुनियरले गोल गर्दै ब्राजिलको अग्रता २-० को बनाए ।

खेलको ७२ औं मिनेटमा कौटिन्होले पेनाल्टीमा गोल गर्दा ब्राजिलको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को जित दिलाए ।

विश्वकपमा यस अघि नै छनोट भइसकेको ब्राजिल यस जितसँगै १६ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा छ ।

चिली १९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्