आईसीसी विश्वकप लिग २ : नेपालले आज युएईको सामना गर्दै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिदेशीय शृंखलामा नेपालले आज बलियो प्रतिद्वन्द्वी युएईको सामना गर्दैछ ।

सारजाहमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।

आज युएईलाई हराउँदै नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो ।

लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको युएईले अघिल्लो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो । नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा ४ पटक आमनेसामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले २/२ पटक जित हात पारेका छन् ।

लिग २ को दोस्रो स्थानमा रहेको युएई र नेपालले एकदिवसीय क्रिकेटमा सन् २०१९ पछि पहिलो पटक खेल्न लागेका हुन । त्यो बेला नेपालले युएईलाई उसकै भूमीमा सिरिजमा दुई एकले हराएर उपाधि जितेको थियो । तर पछिल्लो पटक युएई टिम विशेष गरेर ब्याटिङमा राम्रो लयमा देखिएको छ ।

लिग २ मा कुल ७ टिम सहभागी रहेका छन् ।

९ खेलमा १० अंक जोडेको नेपाल छैटौं स्थानमा छ । यूएई भने १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४८
प्रतिक्रिया दिनुहोस्