आफूमाथि लगाइएका आरोप पुष्टि गर्न एमालेलाई सभामुखको चुनौति

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले सभामुखमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौति दिएको छ ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार एक प्रेस नोट निकालेर देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषय समेटिएको भन्दै पुष्टि गर्न चुनौति दिनुभयो ।

जारी प्रेस नोटमा भनिएको छ, ‘उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।’

न्यौपानेले निश्चित परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार गरिनु खेदजनक भएको बताउनुभयो ।

आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सभामुखविरुद्ध भ्रम सिर्जना गर्न खोजिएको उल्लेख छ ।

सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै सचिवालयले सभामुखलाई जोडेर गरिएको भ्रमपूर्ण प्रचारलाई राजनीतिक पूर्वाग्रहको संज्ञासमेत दिएको छ ।

मंगलबार एमसीसी अनुमोदन भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा (एमाले)ले जारी गरेको प्रेस विज्ञप्तिमा सभामुखका कारण संसदमा अहिलेको गतिरोध सिर्जना भएको आरोप लगाइएको थियो ।

सभामुखले कुनै समयमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेको आत्महत्या गर्छु भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै एमालेले यस्तो व्यवहारले पदीय कर्तव्य भन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०६
प्रतिक्रिया दिनुहोस्