प्रसङ्ग सेना दिवसः यस्तो छ नेपाली सेनाको गौरवमय इतिहास

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं – आज महाशिवरात्रि बढाईं तथा सेना दिवस । नेपालकै गौरवमय इतिहास बोकेको नेपाली सेनाले सँधै झैं यो बर्ष पनि महाशिवरात्रिको दिन सेना दिवस मनाउँदैछ । सेनाले वि.सं. २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर सेना दिवस मनाउन शुरु गरेको हो । 

सेनाको लोगोमा किन राखियो त्रिशुल र डमरु ?

गौमवमय इतिहास बोकेको नेपाली सेनाको लोगोमा त्रिशूल र डमरु राखिएको छ । लोगोमा रहेको हरियो षठकोणभित्रको डमरु र त्रिशूलको समायोजनको धार्मिक र दार्शनिक अर्थ छ ।

सुरुक्षाविद् डा. दिपक प्रकाश भट्टका अनुसार लोगोमा उल्लेखित चित्रहरुले शिवलाई संकेत गर्छन् । जुन हिन्दु दर्शन अनुसार सृष्टिकर्ता, संरक्षणकर्ता र संहारकर्ता हुन् । इतिहासको विभिन्न कालखण्डदेखि नै नेपाली सेनाका अधिकांश कम्पनी देवीदेवताका नाममा छन् । अहिले पनि हरेक जसो व्यारेकमा पनि विभिन्न देवी देवताको मठमन्दिर बनाइएको छ ।

यसका आलवा कम्तिमा दुईजना मूल र सहायक गरी अमल्दारदेखि सह–सेनानी पद सम्मका पुजारी र पण्डित समेत राखिएको हुन्छ । उनीहरुले पर्वविशेषमा मात्र होइन, दैनिक रूपमा देवीदेवताको पूजा गर्छन् ।

यस्तो छ नेपाली सेनाको इतिहास

नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइदैन । तर सन् १७४४ अर्थात विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।

सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन । त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ ।

इतिहासविद् पन्तका अनुसार पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र सन् १७४४ मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई शाही नेपाली सेनाको रुपमा चिनिन थालेको हो ।

यसबाहेक व्यारेकीय संरचनाको हिसाबमा हेर्ने हो भने नेपाली सेना वि.सं. १८१९ फागुन १० गते पोखरा गोरख गणका रुपमा स्थापित भएको पाइन्छ । नेपाली सेना सम्बन्धि विभिन्न किताबहरुमा उल्लेख भएअनुसार त्यसअघि नेपाली सेना रहे पनि गण बनिसकेको थिएन ।

तर केही इतिहासविद्हरुले भने नेपाली सेनाको सुरुवात विक्रम सम्वत १६१६ मा गोरखा राज्यको स्थापनासँगै शुरु भएको दावी गरेका छन् । यस हिसाबले नेपाली सेनाको इतिहास ४ सय ५५ वर्ष भइसकेको छ । डा. भट्टका अनुसार, करीव दुई सय वर्ष त्यो सेनाले खासै कुनै लडाइ लडेको पाइदैन ।

इतिहास हेर्ने हो भने नेपाली सेनाको सञ्चालन तथा सुरुवात तत्कालिन बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट भएको थियो । तत्कालिन शाही सेना, शाही नेपाली सेना हु“दै पृथ्वीनारायण शाहका ११ औं पुस्ताका राजा ज्ञानेन्द्र शाहको पालामा राजतन्त्र अन्त्यसँगै सेना पनि राजाबाट जनताको नियन्त्रणमा आएको छ ।

२०६३ साल जेठ ४ गतेको तत्कालिन पुर्नस्थापित प्रतिनिधिसभाको घोषणबाट शाही नेपाली सेनाको नाम नेपाली सेना बनाइएको थियो ।

त्यस लगत्तै २०६३ मा अन्तरिम संसद्ले सैनिक ऐन पारित गरी सेनामाथि राजदरवारको नियन्त्रण पूर्ण रुपमा अन्त्य गरी संसद्को माताहत ल्याएका हो । अहिले सेनाको संख्या ९६ हजार ५ सय ९९ छ । यो सकल दर्जाको संख्या हो ।

अहिले नेपाली सेनाको परमाधिपतिका रुपमा राष्ट्रपति छन् भने सैनिक संरचनाको नेतृत्व प्रधान सेनापति महारथीले गदर्छन् । उनीभन्दा ठीक तल दुई रथी रहन्छन् ।

त्यसपछि क्रमशः उपरथी, सहायकरथी, महासेनानी, प्रमुख सेनानी, सेनानी, सहसेनानी, उपसेनानी र सहायक सेनानी अधिकृत तहभन्दा माथिका दर्जा हुन् । अधिकृत भन्दा तल प्रमुख सुवेदार, सुवेदार मेजर, जमदार, मुद्दा, अमल्दार, प्यूठ समेतको दरवन्दी छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२९
प्रतिक्रिया दिनुहोस्