नेभिगेशन
सुरक्षा–अपराध

प्रेम विवाह गरेका पतिका साथीसँग अर्को ‘अफेयर’ र सम्बन्ध अनि यसरी गरिएको थियो हत्या

काठमाडौं– मानवीय चेत सामान्य प्रलोभनका कारण दानवीय विषय कसरी बन्छ भन्ने उदाहरण कतिपय अनुसन्धानले पुष्टि गरेका छन्। 

खासगरी नेपाली समाजमा पनि यस्ता गहिरा हत्या प्रकरण भएका छन्। यसको उदाहरण त आइतबार मात्र गोंगबुको गेस्ट हाउसमा पत्नीको घाँटी थिची गरिएको हत्या प्रकरण थियो। 

तर, भारतमा पनि यहि प्रकारका अनेक प्रकरण रहेका छन्। ति मध्य यो अपराध भयानक रहेको पाइयो।

यो सन् २०१९ को घटना थियो।

रुद्रपुरका व्यापारी अवतार सिंहको हराउने घटनाले सम्पूर्ण पन्जाव हल्द्वानी क्षेत्रलाई स्तब्ध बनाएको थियो। परिवारले शुरुदेखि नै हत्या भएको आशंका व्यक्त गर्दै आएका थिए। 

आखिर प्रहरी अनुसन्धानले पुष्टि गरिदिएको थियो– अवतार सिंह हराएका होइनन्, तर योजनाबद्ध तरिकाले हत्या गरेर कारसहित जलाइएका हुन्। 

यस घटनामा उनकी पत्नी नीलम सिंह, नीलमका प्रेमी मनीष मिश्र र एक अन्य बदमास संलग्न रहेको खुलेको थियो।

सोही बर्षको १६ मेको रात करिब ८ बजे भीमताल मार्गस्थित सलडी नजिकै एउटा कार अचानक आगोको गोलो बनेर जलेको थियो। आगो निभाइसकेपछि कारभित्र एक नर कंकाल भेटियो। 

प्रारम्भिक रूपमा शव पहिचान गर्न नसकिए पनि १७ मेमा कारभित्र भेटिएको बीमा कागजले मृतक अवतार सिंह भएको संकेत गरेको थियो। 

प्रहरी अनुसन्धानले पुष्टि गरिदियो कि नीलम र मनीषले लामो समयदेखि अवतारलाई हटाउने योजना बनाइरहेका थिए। 

योजनाअनुसार १६ मेकै दिन जंगलमा हत्या गरियो र रात पर्खेर शवलाई कारमै राखेर सलडी नजिक आगो लगाइयो। त्यसपछि उनीहरू अर्को कारमार्फत फरार भए।

प्रहरीलाई अल्मल्याउन नीलमले निकै नाटक गरिन्। घटनाको भोलिपल्ट उनी रोइकराई गर्दै काठ गोदामसम्म पुगिन् र आफैंलाई निर्दोष देखाउन प्रयत्न गरिन्। 

उनले प्रहरीलाई कार पार्क गरिएको स्थानदेखि अस्पतालसम्म घुमाएर पनि भुलाउने कोशिश गरिन्। तर अनुसन्धानले देखायो कि नीलमकै संलग्नता गहिरो छ।

सुरुवातमा उनले बयान दिएकी थिइन्– 
१६ मेमा उनी पति अवतारसँग उपचारका लागि हल्द्वानी आएकी थिइन्। मुखानी–एसटीएच बाइपासमा कार पार्क गरेर उनी चिकित्सक भेट्न गइन्। फर्किंदा दुई वटा चिसो पेय किनेर ल्याइन् र दुवैले पिए। 

त्यसपछि उनी कालाढुंगी चोकमा ओर्लिइन् र अवतार भने “पहाड जाँदैछु” भन्दै नैनीतालतर्फ हिँडे। यही कथा उनले प्रहरीलाई सुनाइन्। तर सीसीटीभी र कल डिटेल्सले उनको बयानलाई झुठो सावित गरिदियो।

अवतार सिंह हराएपछि उनका बुबा, आमा र भाइ अम्बालाबाट रुद्रपुर पुगे। परिवारले शुरु देखिनै नीलममाथि शंका व्यक्त गर्दै आइरहेका थिए। 

अन्ततः २० मेको रात अवतारका बुबा गुलजार सिंहले भीमताल थानामा बुहारी नीलम र उनका साथी मनीषविरुद्ध औपचारिक उजुरी दर्ता गराएका थिए।

छिमेकी र आफन्तका अनुसार अवतार सिंह पत्नीप्रति निकै समर्पित थिए। सामिया लेक सिटीस्थित घर पनि उनले पत्नी नीलमकै नाममा गरेका थिए।

हत्याको करिब एक वर्षअघि नीलमका लागि १० लाख रुपैयाँको नयाँ कार किनिदिएका थिए। 

हत्याको केही महिना अघि मात्र उनले ५० लाख रुपैयाँको बीमा पनि गरेका थिए। यही सम्पत्ति र बीमाको रकम नीलम र मनीषका लागि लोभको कारण बन्न पुगेको हुनसक्ने आशंका प्रहरीले गरेपछि अनुसन्धानले सफल मोड लिएको थियो।

प्रहरीले नीलम र मनीषका मोबाइल कल डिटेल्स जाँचेको थियो। 

अनुसन्धानमा केही शंकास्पद नम्बर भेटिएका थिए। यी नम्बरहरूको सम्बन्धमा थप जानकारी संकलन गरियो। प्रहरीको प्रारम्भिक भनाइअनुसार नीलम र मनीषबीचको सम्बन्ध अवतारलाई मन नपर्ने कारणले दाम्पत्य जीवनमा विवाद भइरहेका थिए। यसै तनावलाई आधार बनाएर हत्या गरिएको देखिएको छ।

निलम र अवतारको प्रेम विवाह भएको थियो। अवतार विस्तारै आर्थिक रुपमा सम्पन्न हुन थालेपछि घर बनाउने क्रममा छिमेकी रहेको मनिषसँग निलमको सम्पर्क हुन थाल्यो। 

अवतारको अनुपस्थितिमा कुराकानी गर्ने मात्र होइन, फोन आदान प्रदान, भिडिओ च्याट पनि हुन थाल्यो। 

अनि, दुवैबीच अफेयर भयो। अवतारको अनुपस्थितिमा दुवैबीच अनैतिक सम्बन्ध समेत कायम भएको अनुसन्धानमा खुलेको थियो।

उक्त विषय अवतारले थाहा पाएपछि मनिषसँग उनको झगडा परेको र निलमलाई एक पटक चेतावनी समेत दिएका विवरण उपलब्ध छन्। तर, मनिषले प्रतिशोध लिन र निलमसँग मिलेर अवतारको सम्पत्ति हडप्न यो सबै योजना बनाएको विस्तारै खुलेको थियो।

यसरी, सुरुदेखि रहस्यमय देखिएको यो घटना अन्ततः प्रेम प्रसङ्ग र योजनाबद्ध षड्यन्त्रको कारणले व्यापारी अवतार सिंहको हत्या भएको पुष्टि भयो। 

नीलम, मनीष र उनको आपराधिक सहयोगी कानुनी कठघरामा पुगेका छन्। 

यो घटनाले फेरि एकपटक देखाएको छ कि लोभ, विश्वासघात र गलत सम्बन्धले कसरी परिवार र जिवन नै बर्बाद पार्न सक्छ।

(विभिन्न समाचारपत्र र इन्टरनेटमा उपलब्ध सूचनाका आधारमा तयार पारिएको सामग्री हो। सम्पादक)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

राजु गोर्खाली पक्राउ

रविलाई नख्खु जेल छिराइयो