नेभिगेशन
सुरक्षा–अपराध

कैलाली कारागारमा झडपमा गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइँदै

काठमाडौँ । कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप हुँदा गम्भीर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौँमा ल्याइने भएको छ। 

लामो समयदेखि झडप भइरहेको कैलाली कारागार घटनालाई प्रशासनले गम्भीर रूपमा नलिँदा शुक्रबार राती कारागार परिसरमा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका थिए। 

उनीहरूमध्ये सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेका एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घाइते ल्याउन गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पठाइसकेको जानकारी दिए।

उनले उक्त प्रकरणलाई गृह मन्त्रालयले परिस्थितिलाई सहज बनाउन गम्भीरता पुर्वक सुक्ष्मरुपले हेरिरहेको र शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिवसहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिएको बताए। उनले परिस्थिति सहज बनाउने विषयमा छलफल भएको जानकारी दिए।

बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध