नेभिगेशन
समाज विविध

पशुपति आर्यघाटमा जलाउन लागिएको लासबाट मासु र हड्डी झिकेर अघोरीलाई ‘बेचियो’

काठमाडौं– पशुपतिनाथ मन्दीर परिसरमा रहेको मानिस जलाउने आर्यघाटमा लासबाट मासु र हड्डी निकालेर ५ सयमा अघोरीलाई बेचेको भन्ने नयाँ प्रकारको अपराधको विषयले फरक बहस सुरु गरेको छ।

प्रहरीले एक जना घाटेलाई पक्राउ गरी अनुसन्धान त थालेको छ तर यसमा कस्तो कानुन आकर्षित गरी कारबाही प्रक्रिया बढाइने भन्नेचाहिँ अन्यौल रहेको चर्चा सुरु भएको हो।

मलामीले दिएको निवेदनका आधारमा गणेश ढकाल नामका घाटेलाई पक्राउ गरिएको छ।काभ्रेको बनेपा– ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए।

ढकालले कसलाई दिनका लागि दाबी गरिएअनुसार मासु र हड्डी झिकेको बताइसकेका छैनन्। अभद्र व्यवाहारमा मुद्दा सुरु गरिएका उनले मासु दिएको अस्वीकार गरे पनि हड्डी झिकेको भनी स्वीकार गरेको प्रहरी वृत्त गौशालाका प्रमुख नायव उपरिक्षक (डीएसपी) सुकदेव खनालले बताएका विवरण सतहमा आएका छन्।

घाटे गणेशले मृतक शाहीको शवबाट मासु झिकेर जोगीजस्तो देखिने व्यक्तिलाई पाँच सय रुपैयाँमा विक्री गरेको आरोप शाहीका मलामीले लगाएका छन्। त्यसमध्ये सय रूपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ ढकाल आफैँले राखेको उनीहरुको आरोप छ। 

पक्राउ परेका घाटेसँगको सोधपुछपछि अनुसन्धानरत एक प्रहरीका अनुसार त्यस्तो हुनुका पछाडि घाटे र अघोरी बाबाबीचको साँठगाँठ हुन सक्ने अनुमान गरिएको छ।

कतिपय अघोरी बाबा मसान जगाउनका निम्ति मान्छेको हड्डी खेलाउने, रगत पिउने र मासु खाने विश्वास गरिन्छ।

कस्ता हुन्छन् अघोरी?
एउटा जानकारीअनुसार लण्डनस्थित स्कूल अफ अफ्रिकन एन्ड ओरिएन्टल स्टडिजमा संस्कृत पढाउने जेम्स म्यालिन्सनले ‘अघोरी दर्शनको सिद्धान्त यो छ कि यदि तपाईँले आध्यात्मिक ज्ञान हासिल गर्नुछ र ईश्वरलाई भेट्नुछ भने शुद्धताको नियमदेखि टाढा जानुपर्छ’ भनेकाछन्।

म्यालिन्सन एक महन्थ र गुरु पनि हुन्, तर उनको समुदायमा अघोरी सम्प्रदायका प्रक्रियाहरू वर्जित रहेको पनि बताएका थिए।

कैयौँ अघोरी साधुसँग कुराकानी गरेका उनले अघोरीहरू राम्रो र नराम्रोसम्बन्धी सामान्य नियमलाई नमान्ने गरेको जानकारी दिएका थिए। 

‘आध्यात्मिक प्रगतिको उनीहरूको बाटो मान्छेको मासु र दिसा खानु जस्ता अनौठो प्रक्रियाबाट पूरा हुन्छ। तर अरूले त्याग गरेका चीज सेवन गरेर परम चेतना प्राप्त हुने उनीहरूको विश्वास हुन्छ’, उनले कुनै बेला बीबीसीलाई बताएका रहेछन्।

अघोरी सम्प्रदायको इतिहासको कुरा गर्नुपर्दा यो शब्द १८ औँ शताब्दीमा चर्चाको विषय बन्यो। तर यो सम्प्रदायले ती प्रक्रियाहरूलाई अपनाएको छ, जसका लागि कुनैबेला कपालिका सम्प्रदाय कुख्यात थियो।

कपालिका सम्प्रदायमा मान्छेका खप्परसँग जोडिएका अनेकौँ परम्पराका साथै मानव–बली दिने प्रथा थियो। अहिले चाहिँ त्यो सम्प्रदाय अस्तित्वमा छैन।

तर अघोरी सम्द्रदायले कपालिका सम्प्रदायका सबै कुरालाई जीवनमा सामेल गरिसकेको छ। हिन्दू समाजमा अधिकांश पन्थ र सम्प्रदाय निर्धारित नियम अनुसार चल्छन्।

सम्प्रदायलाई मान्नेहरूले संगठनात्मक ढङ्गले नियमहरूको पालना गर्छन्। तर अघोरीहरूको हकमा यस्तो छैन। यो सम्प्रदायसँग जोडिएका साधुहरू आफ्नो घरपरिवारसँग सम्पर्क तोड्छन् र बाहिरका मानिसमाथि पनि विश्वास गर्दैनन्।

अघोरीहरू तथाकथित सानो जातका हुन्छन् भनेर पनि भनिन्छ। म्यालिन्सनले भनेका रहेछन्,‘अघोरी सम्प्रदायमा साधुहरूको बौद्धिक कौशलमा निकै अन्तर देखिन्छ। केही अघोरी यति तीक्ष्ण बुद्धिका थिए कि उनीहरूले राजाहरूलाई रायसल्लाह दिन्थे। एक अघोरी नेपालका एकजना राजाको सल्लाहकार पनि भएको बताइन्छ।’

अघोरीबारेको एउटा पुस्तक ‘अघोरीः ए बायोग्राफिकल नोबल’ का लेखक मनोज ठक्करका अनुसार अघोरीहरूबारे मानिसमा भ्रामक जानकारी बढी छ।

उनले पनि भनेका रहेछन् कि ‘अघोरीहरू निकै सरल हुन्छन्, जो प्रकृतिसँग बस्न रुचाउँछन्। उनीहरूले कुनै प्रकारको माग गर्दैनन्।’

‘उनीहरू सबै चिजलाई ईश्वरको अंशका रूपमा हेर्छन्। उनीहरू न कसैलाई घृणा गर्छन् न कुनै कुरालाई खारेज गर्छन्। त्यसैकारण उनीहरू मान्छे र जनावरको मासुमा फरक देख्दैनन्’ भनी लेखक ठक्करले बताएको पाइन्छ।

म्यालिन्सन र ठक्कर दुवैका अनुसार अघोरी पद्धतिलाई सही ढङ्गले पालना गर्नेहरू चाहिँ थोरै छन्। उनीहरूका भन्छन्– कुम्भ मेलामा देखिने अधिकांश स्वघोषित अघोरी हुन्छन्। त्यस्ता अघोरी शिवरात्री र शिव महिना मानिने साउनका बखत पशुपतिमा पनि ठूलो संख्यामा देखिने गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध