नेभिगेशन
सुरक्षा–अपराध

गुप्तचर अधिकृत चेतनलाई प्रेमीसँग मिलेर दुई बच्चा भएकी आफ्नी पत्नीले यसरी हत्या गरेकी रहिछन्

सरकारी शिक्षिकाले पतिको हत्यामा रचेको अनौठो योजना, मागी बिहे गरे पनि प्रविणको प्रवेशले यस्तो घटना घटायो

काठमाडौं– जब परिवारमा तेस्रो मानिसको प्रवेश हुन्छ अनि अपराध गर्नमा मानिस उद्दत हुन्छ। यस्तै घटनाको उदाहरण बन्यो– इन्टेलिजेन्स ब्यूरो (आईबी) अधिकृत चेतन प्रकाश हत्या प्रकरण।

परिवार पूर्ण थियो। मागी बिहे भएको थियो, २०११ मा। ७ बर्षसम्म कुशल पारिवारिक सम्बन्ध रहँदा दुई जना सन्तान पनि थिए। परिवारका सबै सदस्य खुशी देखिन्थे। तर, त्यहाँ तेस्रो मानिसको अनाहक प्रवेश र सम्बन्ध पुनर्ताजगी अनि सन्तान आफ्नो होइन कि भन्ने आशंका र डीएनए परिक्षणको विषयले अर्को मोड जन्मायो।

भारतको राजस्थानको झालावाड़मा सात वर्षअघि भएको एउटा रहस्यमयी र सनसनीखेज हत्या प्रकरण फेरि एक पटक चर्चामा आएको छ। 

यो हत्या १४ फेब्रुअरी २०१८ मा भएको थियो, जसमा पीडित चेतन प्रकाश गलाना भारतको आईबीमा कार्यरत एक इमानदार र कर्तव्यनिष्ठ अधिकारी थिए। 

घटनापछि लामो अनुसन्धान, प्रमाण संकलन र अदालतको प्रक्रियापछि चार जनालाई १४–१४ वर्षको आजीवन कारावासको सजाय सुनाइएको छ। 

तर पीडित परिवार यो सजायबाट असन्तुष्ट छ र उनीहरूले अझ कडा मृत्युदण्ड सजायको माग गरिरहेका छन्।

यो प्रकरणलाई विशेष बनाउने कारणहरूमध्ये सबैभन्दा चकित पार्ने पक्ष हो, हत्या योजनामा चेतन प्रकाशकै पत्नी अनीताको संलग्नता। 
उनले आफ्नो प्रेमी प्रहरी जवान प्रवीण राठौरसँग मिलेर योजना बनाइन्। 

योजनामा नर्सिङ कर्मचारी सन्तोष निर्मल र एक अन्य व्यक्ति शाहरुख पनि सहभागी थिए।

यो हत्या प्रकरणमा सन्तोष निर्मलको भूमिका प्रतिबन्धित औषधि केटामाइन उपलब्ध गराउने जिम्मेवारी थियो। शाहरुखको अपहरण कार्यमा सक्रिय सहयोगी पनि थियो। 

यसरी भयो हत्या
अनीता र प्रवीणबीच लामो समयदेखि नजिकको सम्बन्ध थियो। 

प्रवीण प्रायः चेतनको घर आउँ–जाउँ गर्थे, जसले परिवारमा विवाद र असहजता बढाउँदै लग्यो। चेतनको शंका गहिरिँदै जाँदा उनले पत्नीको चरित्रमाथि मात्र प्रश्न उठाएनन्, बरु आफ्नो कान्छो छोरो आफ्नो जैविक सन्तान नभएको आशंका पनि गर्न थाले।

चेतनले छोराको डीएनए परीक्षण गराउने निर्णय गरेपछि अनीता र प्रवीणको डर चरममा पुग्यो। 

उनीहरूलाई लाग्यो कि यदि परीक्षण भयो भने उनीहरूको सम्बन्ध सार्वजनिक हुनेछ र उनीहरूको सामाजिक प्रतिष्ठा तथा करियर दुवै ध्वस्त हुनेछ। यही डर नै हत्या योजनाको मुख्य कारण बन्यो।

चेतन दिल्लीमा आफ्नो ड्युटी सकेर झालावाड़ फर्किँदै थिए। उनी रामगञ्जमण्डीमा आफन्तलाई भेटेर घरतर्फ लागे।

साँझ ८ बजेसम्म घर नपुगेपछि परिवारले सम्पर्क गर्ने प्रयास गरे, तर फोन नलागेपछि बेचैनी बढ्यो।

खोजतलास गर्ने क्रममा राति ८ः३० बजे भवानीमण्डी सडक किनारमा चेतन अचेत अवस्थामा भेटिए। अस्पताल पुर्याएपछि चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

प्रहरी अनुसन्धानअनुसार, प्रवीण र उसका साथिहरू चेतनलाई पक्रन रेलवे स्टेशन मार्गमा पर्खिरहेका थिए।

यसमा अचम्म लाग्दो विषय के पनि थियो भने प्रविण र अनिता बाल्यकालदेखिका साथी थिए। यीनीहरु साइनोमा ‘दाजु बहिनी’ भन्थे। खासगरी आजको दुनियाँमा भनिने ‘दादा’ सम्बन्ध जस्तो। 

यसक्रममा चेतनलाई जबरजस्ती कारमा बसालेर डाक बंगला तर्फ लगेका थिए। बाटोमै एक सहयोगीले चेतनको हात बलियोगरी समातेका थिए। प्रवीणले चेतनको तिघ्रामा केटामाइनका दुई वाइल इन्जेक्सन हानेका अनुसन्धानमा खुल्यो। केही मिनेटमै चेतनको मुटुको धड्कन र रक्तचाप असामान्य भयो र उनको मृत्यु भयो।

प्रहरीका अनुसार केटामाइन उच्च मात्रामा प्रयोग गर्दा शरीर तुरुन्त शिथिल भई श्वासप्रश्वास र मुटुको कार्य रोकिन सक्छ। यसलाई योजनाबद्ध ढंगले प्रयोग गर्नु हत्या गर्ने एक सोचेको तरिका थियो।

यो केसमा प्रहरीलाई मोबाइल कल डिटेल, लोकेसन ट्र्याकिङ, प्रत्यक्षदर्शीको बयान र मेडिकल रिपोर्टले महत्त्वपूर्ण मोड दियो।

अनीता र प्रवीणबीच निरन्तर फोन सम्पर्क भएको तथ्य खुलेपछि शंका बलियो भयो। घटनाको दिन प्रवीण र शाहरुखको लोकेसन घटना स्थल नजिक देखियो।

सन्तोष निर्मलको मेडिकल पेशासँगको सम्बन्धका कारण केटामाइनको स्रोत पत्ता लाग्यो।

झालावाड़को अदालतले चारै जनालाई दोषी ठहर गर्दै १४ वर्षको आजीवन कारावास सजाय सुनायो। अनीतालाई हत्या योजनाकी मुख्य सूत्रधार ठहर भयो। प्रवीण राठौर कार्यान्वयनकर्ता ठहर भयो। 

सन्तोष निर्मल घातक औषधि उपलब्ध गराउने, शाहरुख अपहरणमा सहयोग गर्ने मतियार ठहर भयो। 

तर चेतनका बुबाले यो फैसला अपूरो न्याय भएको बताउँदै चारैलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्।

यो प्रकरणले पारिवारिक विश्वासघात र पेशागत आचारसंहिताको उल्लंघनले कस्तो भयावह परिणाम ल्याउन सक्छ भन्ने कठोर उदाहरण दियो। सुरक्षा निकायभित्रका अधिकारी पनि व्यक्तिगत सम्बन्ध र भावनात्मक निर्णयका कारण असुरक्षित हुन सक्छन्। पारिवारिक विवाद र अविश्वासले कहिलेकाहीँ ज्यानै जाने अवस्था ल्याउन सक्छ।

यो विषय आजसम्म पनि राजस्थानमा चर्चित छ, किनकि यो केवल एक हत्या मात्र थिएन—यो एउटा परिवारको भत्किएको भरोसा, पेशागत मर्यादाको पतन र मानवीय संवेदनाको ह्रासको कथा थियो।

(यो रिपोर्ट भारतीय मिडिया र इन्टरनेटमा उपलब्ध जानकारीका आधारमा तयार गरिएको हो। सम्पादक)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध