नेभिगेशन
मनोरञ्जन

भरत थापा भ्रष्टाचारी भएपछि फिल्म ‘मेयर’लाई परेको मुख्य धक्का र उठेको प्रश्न

यो फिल्ममा मेयर थापाको पनि लगानी रहेको बताइन्छ। उक्त लगानीको स्रोतको विषयले प्रश्न खडा गरेको हो। तर, निर्माण पक्षले यी विषयमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन

काठमाडौं– रिलिजको तयारीमा रहेको फिल्म ‘मेयर’लाई धक्का लागेको छ भने प्रश्न पनि उठेको छ।

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको बायोपिक रहेको फिल्मलाई धक्का लाग्नुको कारण विशेष अदालतको फैसला हो। 

मेयर थापालाई विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा भ्रष्टाचारी ठहर गरेका कारण यो नैतिक संकट फिल्म निर्माण टोलीले खेप्नु परेको छ।

निलम्बित मेयर थापालाई विशेष अदालतले बुधबार मात्र गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गरेको थियो।

थापा भ्रष्टाचारी ठहर भएसँगै उनकै जीवन संघर्षलाई आधार मानेर तयार पारिएको फिल्म ‘मेयर’ अलपत्र परेको हो। उक्त फिल्मको छायांकन केही महिनाअघि मात्र सकिएको थियो।

खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेको फिल्म निर्देशक दीपेन्द्र के खनालले निर्माण गरेका हुन्। बायोपिक पात्र दोषी ठहरपछि पोस्ट प्रोडक्सनको चरणमा रहेको  फिल्मको रिलिज अन्योलमा परेको हो। 

यो फिल्ममा मेयर थापाको पनि लगानी रहेको बताइन्छ। उक्त लगानीको स्रोतको विषयले प्रश्न खडा गरेको हो। तर, निर्माण पक्षले यी विषयमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

निर्देशक दीपेन्द्र के खनाल भने अहिले अर्को बायोपिक फिल्म ‘क्याप्टेन साब’को सुटिङमा व्यस्त छन्।

जबसम्म थापा भ्रष्टाचारी नभएको भन्ने उपल्लो अदालत अर्थात् सर्वोच्चको आदेश आउँदैन तबसम्म उक्त फिल्मको रिलिजको विषय नैतिक धक्का र प्रश्नको कसीमा रहने छ।

अख्तियारले मेयर थापालाई मुद्दा लगाएर छानबिनमा राख्दा नै यो फिल्म निर्माण युनिट नैतिकताको प्रश्नमा उभिएको थियो। यसपछि उनै खनालले निर्देशन गरेको तथा लामिछानेले नै अभिनय गरेको फिल्म ‘के घर के डेरा घर नम्बर २’ रिलिज भएर हलबाट उत्रि पनि सकेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन