काठमाडौं– नेपालमा हुने रणनीतिक र हाइप्रोफाइल हत्या प्रकरणमा कुनै न कुनै रुपमा भारतीय पक्षको संलग्नता देखिने गरेको छ।
खासगरी राजनीतिक हत्यामा त पक्कै पनि हुन्छ नै। यस्ता हत्या प्रकरणमा अन्डरवर्ल्डका डन पनि जोडिएका हुन्छन्, छन् र थिए।
यस्तै एउटा हाइप्रोफाइल हत्या काठमाडौंमा सम साँझै भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जो हिन्दूवादी भन्छ उसका सांसदको हत्या प्रकरण निक्कै चर्चामा थियो।
२७ बर्षअघिको यो घटना कसरी भयो? कसले के जिम्मेवारी लिए? अनुसन्धान भयो कि भएन? यसका अनेक पाटाका विषयबस्तु सतहमा आएकै थिए।
मिर्जा दिलसाद वेग हिन्दी फिल्ममा ‘हिरो’ बन्ने धुनमा १४ वर्षकै उमेरमा घरबाट भागेर मुम्बई पुगेका थिए।
हिरो त होइन, धेरैपछि उनी आफैंले निर्माण गरेको नेपाली फिल्म ‘चाहना’मा खलनायक भए। तर त्यसबेलासम्ममा उनी वास्तविक जीवनमै ’खलनायक’ बनिसकेका थिए, जसको अन्त्य पनि फिल्मी शैलीबाटै भयो।
मिर्जाको ४७ वर्षे जीवनमा कालो सोमबार बन्यो २०५५ असार १५। दुनियाँले दही च्यूरा खाएको दिन उनले गोली खाएका थिए।
एउटा सुनियोजित आक्रमणमा परेका पूर्वराज्यमन्त्री तथा सांसद वेगले आफ्नो विवादास्पद जीवन सधैंका लागि बिसाए। नेपालको सन्दर्भमा कुनै पनि उच्चपदस्थ व्यक्तिलाई बीच सडकमै गोली ठोकेर मारिएको घटना यो पहिलो हो, जुन आफैंमा डरलाग्दो सुरुआत हुन सक्छ।
सांसद वेगको हत्या दाउद इब्राहिम र छोटा राजनले नेतृत्व गरेका दुईटा खतरनाक अन्तर्राष्ट्रिय अपराधी गिरोहहरूबीचको भिडन्तको परिणाम थियो।
दाउद गिरोहका मान्छेहरूको सफाया गर्ने सार्वजनिक घोषणा गरेका छोटा राजनले मिर्जालाई आफूले मार्न लगाएको कुरा सगर्व बताइसकेका थिए।
छोटे राजन पछि भारतीय प्रहरीको गिरफ्तारीमा परे र अहिले सजाय भोगीरहेका छन्।
सो हत्यामा हाल राजनसँगै मिलेर काम गरिरहेका अरूण गवली र बब्लु श्रीवास्तवको पनि सहयोग रहेको अनुमान छ। तर हत्याको अन्तिम सूत्रधार छोटा राजन नभएर बाह्य गुप्तचर एजेन्सीहरू रहेको हुन सक्ने आधारहरू फेला परेको पनि दाबी गरियो।
राप्रपाका सांसद वेग गृहजिल्ला कपिलवस्तुमा नौ दिन बसेर संसद् अधिवेशन सुरु भएकै दिन असार १४ गते काठमाडौं आए। र, भोलिपल्ट दिउँसो तत्कालिन मध्यमाञ्चल क्षेत्रका पार्टी कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रममा सरिक भए। त्यसपछि बेलुकी आफ्नी कान्छी पत्नीकहाँ जानमात्र के लागेका थिए, बाटैमा उनको हत्या भयो।
सांसद वेग चढेको सेतो रङको टोयोटा कोरोला कार बा.अ.ञ ७६५९) उनका विश्वासी ड्राइभर भुवन कार्कीले हाँकिरहेका थिए। सिफल, पानीट्यांकीबाट पश्चिमतर्फ ओरालो लागेपछि आउने सार्वजनिक चौरमा कार पार्क गर्दागर्दै त्यहाँ गोलीको वर्षा भयो।
ड्राइभर कार्की कारभित्रै स्टेयरिङ समातेकै अवस्थामा सोत्तर भए भने सांसद वेग त्यहाँबाट करिब ४० फिट पश्चिमतिर बाटोमा ढले।
उनलाई सम्भवतः भाग्दा–भाग्दै गोली लागेको थियो। धोबीखोलाको पूर्वतिर रहेको उनको निवास पुग्न कार पार्क गर्ने ठाउँबाट एक मिनेटजति हिंड्नुपर्छ।
पोस्टमार्टम रिपोर्टका अनुसार सांसद वेगको शरीरमा आठवटा गोली लागेको थियो, टाउकोमा तीनवटा र अरू जीउमा। एकदमै नजिकबाट हानेका कारण सबै गोलीहरू शरीर छेडेर निस्किएका थिए।
घटनास्थलबाट ९ एमएम र ७.६३ एमएम अंकित भारत र इटालीमा निर्मित गोलीका खोकाहरू बरामद भएका थिए ।
स्थानीय बासिन्दाका अनुसार लोडसेडिङको समय सकिनु र बत्ती बल्नुबीचको संघारमा राति साढे नौ बजे गोली चलेको थियो।
घटना भएको लगत्तै छेउछाउका मान्छेहरू त्यहाँ पुग्दा गाडीको चालकपट्टकिो ढोका खुलै थियो, हेडलाइट बलिरहेको थियो, इञ्जिन र वाइपर चलिरहेको थियो। तर मिर्जा र ड्राइभरको भने प्राणपखेरु उडिसकेको थियो।
मिर्जा काठमाडौंमा दुई ठाउँमा बस्ने गर्थे। उनको स्थायी निवास चावहिल, लामपोखरीमा थियो, जहाँ उनकी जेठी पत्नी भिखनी बस्थिन्।
सिफलस्थित कान्छी पत्नी सुनीता रायकहाँ चाहिँ उनी बेलाबखत मात्र जान्थे।
२१ वर्षीया सुनीता सर्लाहीका सांसद खोभारी रायकी बहिनी थिइन् जोसँग मिर्जाको प्रेम–विवाह भएको थियो।
सुनीता हिन्दू भएकाले बिहेअघि उनको निकाहा गरी मुस्लिम नाम समा बानो राखिएको थियो।
मिर्जाले उनलाई राप्रपाका पार्षद् प्रेम चौलागाईंको सिफलस्थित घरको पहिलो तला भाडामा लिएर राखेका थिए। अरूबेला सुरक्षा बन्दोबस्तका साथ हिंड्ने सांसद वेग त्यहाँचाहिँ प्रायःजसो एक्लै जाने गर्थे, त्यही बेवास्ताको फाइदा हत्याराहरूले उठाए।
केही समययता मिर्जाले आफूलाई असुरक्षित महसुस गर्न थालेका थिए। उनले चावहिल, लामपोखरीस्थित घरमा आगन्तुकहरूलाई जाँच्न मेटल डिटेक्टर पनि राखेका थिए भने गत साल अमेरिकाबाट र्फकंदा अत्याधुनिक राइफल पनि किनेर ल्याएका थिए।
राप्रपाका नेता तथा सांसद बुद्धिमान तामाङले सांसद वेगलाई अघिल्ला सरकारले दिएको सुरक्षा समेत वर्तमान सरकारले झिकेको आरोप सदनमै लगाएका थिए।
सरकारले आफूलाई दिएको एउटा रिभल्बर र असई फिर्ता गरेको हुँदा सुरक्षा व्यवस्था मिलाइदिन पूर्वगृहमन्त्रीको नाताले आफ्नो हत्या हुनुभन्दा केही घन्टाअघि वेगले आफूसँग आग्रह गरेको कुरा तामाङले बताएका विवरण भेटिन्छन्।
प्रहरी प्रधान कार्यालयले स्व. वेगले आफू असुरक्षित भई सुरक्षा माग गरेको सूचना एवं आभाषसमेत प्रहरीलाई नदिएको कुरा एक विज्ञप्तिमार्फत् जनाएको थियो।
हत्या र हत्या अभियुक्त
मिर्जा दिलसाद वेगलाई गोली प्रहार गर्ने करन सिंह हत्याको चारवर्षदेखि काठमाडौंमा बसिरहेका थिए।
छोटा राजन गिरोहका सार्प सूटर करन काठमाडौंमा बसे पनि आफ्नो ‘बोस’को आदेशानुसार हत्या गर्न देश–विदेश जाने गर्थे।
वेगको हत्या गरेको तीन दिनपछि मात्र उनी यहाँबाट भागेका थिए। सानेपामा उनी बसेको घरबाट प्रहरीले वा.अ.च ९५५७ नम्बरको हरियो रङको टोयोटा कार पनि बरामद गरेको छ।
मिर्जाको हत्यामा सोही कार प्रयोग गरिएको थियो। करन सिंहले सो कार महेन्द्र हाडा नामक व्यक्तिबाट किनेका थिए। तर त्यो राजपरिषदको सदस्य पत्नी कलावती सिंहको नाममा दर्ता छ।
पत्नी सिंहका अनुसार भन्सार सुविधामा झिकाइएको सो कार १० वर्षअघि नै दार्चुलाका चन्द्रसिंह खडायतमार्फत् एक अज्ञात व्यक्तिलाई बेचिएको थियो । तर त्यसको नामसारी हालसम्म गरिएको छैन।
मिर्जाका हत्याराहरू भारतबाट चढेर आएको डीएल ९ सीए १३४३ नम्बरको महेन्द्रा जिप महेन्द्रनगरमा भेटिएको थियो। सो कारका ड्राइभर रहेका भूतपूर्व प्रहरी हबल्दार सुरेन्द्रसिंह भण्डारी पनि त्यससँगै पक्राउ परेका थिए।
मिर्जा हत्याकाण्डमा संलग्न व्यक्तिमध्ये मिर्जाकै पूर्वकारिन्दा सफिक मोहम्मद खाँलाई प्रहरीले मुम्बईबाट समातेर ल्याएको छ भने हत्यामा सहयोगी भूमिका निर्वाह गर्ने सतीश गौतम पनि गिरफ्तार भएका थिए।
जिल्ला प्रहरी कार्यालय, काठमाडौंले सोही बर्षको असार ३२ गते जिप चालक भण्डारी र सफिकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो।
विश्वस्त सूत्रका अनुसार मिर्जा हत्याकाण्डमा संलग्न पाँचजना हिटमेनहरूमा करन सिंह र जुवेर खान थिए भने हत्याका योजनाकारमा रोहित बर्मा उर्फ सन्देश शर्मा, सञ्जय माड्कर र राजेन्द्र शर्मा उर्फ राज रहेका थिए।
उनीहरू सबै छोटा राजन गिरोहका पेशेवर अपराधीहरू थिए। यसमध्ये रोहित बर्मा सो गिरोहको तेस्रो महत्त्वपूर्ण व्यक्ति भएको बुझिएको थियो।
सो हत्याकाण्डमा रविना अग्रवाल नामकी भारतीय युवतीको पनि मुख्य भूमिका रहेको बताइन्थ्यो। रचना, मिनाक्षी, रक्षाजस्ता थुप्रै नामबाट आफूलाई चिनाउने रविना मिर्जाको हत्या भएकै दिनदेखि काठमाडौंबाट गायब भएकी थिइन्।
उनी प्रायः स्कुटरमा हिंड्थिन् र तारे होटलहरूमा देखिन्थिन्। धनाढ्य व्यक्तिहरूलाई यौन जालमा फँसाएर ब्ल्याकमेलिङ गर्नु वा पैसा लुट्नु उनको पेसा थियो। प्रहरीका अनुसार रविना बब्लु श्रीवास्तव गिरोहसँग सम्बद्ध थिइन्, जसको मिर्जा हत्याकाण्डमा अहम् भूमिका थियो।
रविनाजस्तै अन्य चारवटा केटीलाई पनि बब्लुले सोही प्रयोजनका निम्ति काठमाडौंमा सक्रिय गराएको विवरण पनि प्रकाशनमा आएका थिए।
सांसद वेगका हत्याराहरू अरू कोही नभएर उनी स्वयम्ले संरक्षण दिएर राखेका व्यक्तिहरू थिए। उनीहरू त्यसबेला नेपाल छिरे, जब भारतको निजी क्षात्रको सबैभन्दा ठूलो विमान सेवा ‘इस्टवेस्ट एयरलाइन्स’ का प्रबन्ध निर्देशक तकिउद्दिन वाहिदको सन् १९९५ नोभेम्बरमा मुम्बईमा हत्या भयो।
सो एयरलाइन्स दाउद इब्राहिमको लगानीमा सञ्चालित भएकाले आफूले वाहिदलाई मार्न लगाएको रहस्य स्वयम् छोटा राजनले खोलिसकेका थिए।
सोही हत्यामा संलग्न रोहित बर्मासहित सञ्जय माड्कर र राजेन्द्र शर्मा लुक्नका निम्ति भनेर ०५३ माघताका नेपाल छिरेका थिए।
मिर्जाले उनीहरूलाई संरक्षण दिएर राखे। मिर्जासँग उनीहरूको पुरानै चिनजान थियो। यसमध्ये रोहित र राजेन्द्रलाई सांसद वेगले ०४९ सालमै कपिलवस्तुबाट नेपाली नागरिकता दिलाएको तथ्य यहाँ स्मरणीय छ। राजकुमारको नागरिकता प्रहरीले र पासपोर्ट बरामद गरेपछि सो तथ्य खुलेको हो।
रोहित, सञ्जय र राजेन्द्रलाई मिर्जाले नै चुनदेवीमा घर भाडामा खोजिदिएर राखेका थिए। त्यसपछि उनीहरू शिक्षण अस्पतालपछाडिको एक घरमा बसे। उनीहरूले पूरै वर्षभरिको पैसा तिरेर घर भाडामा लिने तर छ–छ महिनामै छाडेर हिंड्ने गरिरहेका थिए।
मिर्जाको हत्या गर्दाताका रोहित र सञ्जय पत्नीसहित नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलको पूर्वपट्ट िदूरसञ्चार संस्थानका अधिकृत यज्ञप्रसाद श्रेष्ठको घरमा भाडा लिएर बस्दै थिए, जहाँबाट उनीहरू भागे।
उता राजेन्द्रचाहिँ सतीश गौतमसँग मैतीदेवीमा बसेका थिए, जहाँ प्रहरीले छापा मार्दा एउटा कटुवा बन्दुक पनि फेला पारेको थियो।
हत्याराहरूले दूरसञ्चारका खरिदार सतीश गौतमलाई पनि आफूसँग मिलाएका थिए। गौतमले सांसद वेगको टेलिफोन टेपिङ गरेर उनीहरूलाई सघाएको आशंका प्रहरीले गरेको थियो।
यसका अतिरिक्त उनीहरूले गौतमका दुईटा पीसीओमध्ये मैतीदेवीस्थित ‘दी युनिभर्स कम्युनिकेसन’ लाई आफ्नो आपराधिक क्रियाकलापका निम्ति प्रयोग गरेका थिए।
घरको फोनबाट कुरा गर्न असुरक्षित ठानेर उनीहरूले त्यहाँबाट आफ्ना ‘बोस’ छोटा राजनसँग सम्पर्क गर्थे। उनीहरूले गर्ने फोनको बिल हरेक दिन १० हजार रुपैयाँभन्दा माथि हुने गथ्र्याे। रमाइलो त के भने, पीसीओमा जाँदाजाँदै सञ्जय माड्कर र सतीशकी बहिनीबीच ‘लभ’ भयो र केही महिनाअघि उनीहरूले विवाह पनि गरे।
हत्याराहरूले काठमाडौंमा अत्यन्त बिलासी जीवन बिताएका थिए। दसौं हजारसम्म ‘टिप्स’ दिने ती अनौठा ग्राहकहरूलाई राजधानीका चल्तीका होटल र रेस्टुरेन्टका वेटरहरूले बिर्सेका थिएनन्।
ती व्यक्तिहरूले ठमेलस्थित गोरखा प्यालेस रेस्टुरेन्टमा सुन्दरी प्रतियोगितामा भाग लिएका केही युवती र फिल्मी हिरोइनहरूलाई च्यापेर हिंड्ने गरेको पनि धेरैले देखेका थिए। भाटभटेनी डिपार्टमेन्टल स्टोरमा त उनीहरू नियमित पुग्थे।
रोहित, सञ्जय र राजेन्द्रले काठमाडौंमा बसेर एकातर्फ छोटा राजनको गैरकानुनी कारोबार चलाइरहेका थिए भने अर्काेतर्फ राजनकै आदेशानुसार केही महिनाअघिदेखि मिर्जाको हत्याको तयारी पनि गरिरहेका थिए।
हत्याको योजना तयार पारेर उनीहरू घटना हुनुभन्दा दुई दिनअघि नै भागे। वास्तवमा उनीहरू ’प्लानर’ मात्र थिए, ‘हिटमेन’हरूको टोली अर्कै थियो।
मिर्जाको हत्या तत्कालै गर्ने निर्णयमा पुगेका छोटा राजनले आफ्ना बफादार ’‘ुटर’ जुवेर खानको नेतृत्वमा हिटमेनहरूको टोली पठाएका थिए। सो टोली डीएल ९ सीए १३४३ नम्बरको महेन्द्रा जिप चढेर महेन्द्रनगर नाकाबाट असार १२ गते नेपाल छिरेको थियो।
उनीहरू काठमाडौं आएर ठमेलस्थित होटल ट्यांकीमा बसेर रोहितहरूसँग सम्पर्क गरे। त्यसपछि उनीहरूले सानेपामा बस्ने अर्का भारतीय अपराधी करन सिंह उर्फ मक्कालाई भेटे र हत्याको योजनालाई अन्तिम रूप दिए।
मक्का पनि मिर्जाकै संरक्षणमा काठमाडौंमा बस्दै आएका थिए। भनिन्छ, केही प्रहरी अधिकृतहरू पनि उनको नजरानामा पालिएका थिए।
मिर्जाको हत्यामा पाँचजना हिटमेनहरू संलग्न थिए। उनीहरूले मिर्जालाई कपिलवस्तुमै मार्ने योजना बनाएका थिए। सांसद वेग असार ५ गतेदेखि १४ गतेसम्म कपिलवस्तुमा थिए। तर त्यहाँ मौका नमिलेका कारण हत्या भएन।
पिछा गर्दै आएका हत्याराहरूले त्यसको भोलिपल्ट अर्थात् असार १५ गते राति ९ः३० बजे काठमाडौंको सिफलमा मिर्जाको हत्या गरे। प्रहरीका अनुसार मिर्जामाथि गोली प्रहार गर्ने व्यक्ति करन सिंह थिए।
मिर्जा कसरी माफिया भएका थिए?
२०४८ सालमा सांसद भएपछि उनको धन्दा जुन स्तरमा अकासियो, त्यही गतिमा उनले चर्चा पाउँदै गए। तर ३० वर्षअघि पहिलोचोटि मुम्बईको जेलमा चिसो हावा खाँदा सायद् उनले त्यसको कल्पना पनि गरेका थिएनन् होला।
मारिनुभन्दा ४७ वर्षअघि भारतको उत्तर प्रदेश, देवरिया जिल्ला, रुद्रपुर थानाअन्तर्गतको भैसही गाउँमा जन्मिएका मिर्जा सानैमा हिरो हुन मुम्बईतर्फ हानिएका थिए। हिरो त होइन, पैसा सकिएपछि उनी सानोतिनो अपराधी बने र हाजी मस्तान गिरोहको सम्पर्कमा पुगेका थिए।
सोही क्रममा उनी जेल पनि परे। पछि ०३६–३७ सालमा नेपाल छिरेर यहीँको नागरिकता प्राप्त गरी मिर्जाले कृष्णनगरमा स्थायी बसोबास थाले।
कृष्णनगरमा बसेर उनले आफ्नै ढङ्गबाट दुई नम्बरी काम थाले। चरेस र गाँजा तस्करीको बाटो हुँदै चोरीका भारतीय ट्रक, जिप र कारहरू नेपाल भित्र्याउने धन्दा गरे।
पञ्चायतकालको अन्त्यसम्ममा त उनी त्यस भेकको ठूलो तस्करमा गनिन थालेका थिए। र, राजनीतिमा पनि थोरबहुत सक्रिय थिए।
तत्कालीन मजदुर संगठन गाउँ समितिको सभापति भएर पञ्चायती राजनीतिमा प्रवेश गरेका मिर्जा कृष्णनगर गाउँ पञ्चायतको उपप्रधानपञ्च पदमा पनि उठेका थिए। तर तीन मतले हारे।
बहुदल आएपछि सुरुमा उनी नेपाली कांग्रेसमा लागे र जिल्ला कोषाध्यक्ष समेत भए। तर ०४८ सालको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि उनले सद्भावना पार्टीका तर्फबाट चुनाव लडे र जिते पनि।
सद्भावनाले उनलाई केन्द्रीय कोषाध्यक्ष बनायो। ०५१ सालको मध्यावधि निर्वाचनमा सद्भावनाले टिकट नदिएपछि राप्रपाले उनलाई आफ्नो उम्मेदवार बनायो।
दोस्रोपटक पनि उनी संसद्मा पुगे। यही अवधिमा उनी देउवा सरकार र थापा सरकारमा दुईपटक राज्यमन्त्री हुनुका साथै राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भए। पार्टी वा सरकार जे फेरेर भए पनि उनी मन्त्री भइरहन चाहन्थे।
सुरक्षाकै कारण आफू मन्त्री हुनुपरेको जिकिर उनको सदैव रह्यो। सांसद मिर्जा दिलसाद वेगले राजनीतिक आवरणभित्र आपराधिक गतिविधि सञ्चालन गरेको आरोप निरन्तर लागिरह्यो।
उनले आपराधिक गतिविधि गर्न नेपाल र भारतका पेशेवर अपराधीहरूलाई समेटेर गिरोह नै खडा गरेका थिए। एक समय गोरखपुरको उर्दू बजारमा आधा दर्जन सुन व्यापारीहरूलाई दिउँसो मारेर करोडौंको नगद र गरगहना लुट्ने गिरोहका नाइके इरफान उर्फ गामा र बिहारका नामुद अपराधी मल्खु सिंहलाई पनि उनले आफ्नो गिरोहमा सामेल गरेका थिए।
सीमापारिका आफ्ना प्रतिद्वन्द्वीहरू सकुर कसाई र करिमुल्ला खाँको बढनी बजारमा हत्या गरेपछि त त्यस क्षेत्रमा मिर्जाको एकछत्र राज भयो।
कट्टरपन्थी हिन्दूहरूले सन् १९९२ मा भारतको अयोध्यास्थित बाबरी मस्जिद ध्वस्त पारेपछि मुम्बईका माफिया दाउद इब्राहिम र मिर्जाबीच गाढा सम्बन्ध स्थापित भयो। त्यसबेलासम्ममा मिर्जा सांसद भइसकेका थिए र नेपालमा उनको पहुँच बढ्दो थियो। त्यही भएर उनलाई दाउद र पाकिस्तानी गुप्तचर संस्था आईएसआईले आफ्नो पकडमा ल्याएको दाबी भारतीय पक्षको थियो।
आईएसआईको सम्पर्कमा आएपछि मिर्जाले तस्करीका अलावा भारतविरुद्ध विध्वंसक जेहाद छेडेको आरोप लगाइन्थ्यो। जस्तो कि, सन् १९९३ जनवरी २६ मा गोरखपुरस्थित मेनका थिएटरमा भएको बम विस्फोटमा मिर्जाको हात रहेको आरोप लाग्यो। उनले दाउदसँग मिलेर ठूलो परिमाणमा हातहतियार र विस्फोटक पदार्थहरू नेपालको बाटोबाट भारत भित्राउने गरेको समाचार भारतीय अखबारहरूले निरन्तर लेखे। त्यसोे त एकपटक स्टेनगन लिएर भारत जान लागेका मिर्जाका भतिजा अफजल नेपालगन्जमा समातिएका थिए।
भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को दाबीअनुसार भारत भित्रिन लागेको आरडीएक्स समात्ने भारतीय कस्टम कलेक्टर एलडी अरोडाको हत्या दाउद–मिर्जा गठबन्धनबाटै भएको थियो।
२४ मार्च १९९३ मा इलाहाबादमा अरोडामाथि गोली हान्ने व्यक्ति मिर्जाका दाहिने हात गामा थिए। र, सो हत्याको योजना पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको काठमाडौं, महाराजगन्ज चक्रपथस्थित घरमा सांसद मिर्जासहित दाउदका मतियारहरू बब्लु श्रीवास्तव, मनजित सिंह र केके सैनीले बनाएको कुरा सीबीआईको प्रतिवेदनमा उल्लेख थियो।
सो घर मिर्जाले सन् १९९२ देखि प्रतिमहिना १८ हजारका दरले भाडामा लिएका थिए र भारतीय अपराधीहरूलाई लुकाउने थलो बनाएका थिए।
भारतमा अपराध गरेर आएका व्यक्तिहरूलाई मिर्जाले नेपालमा आश्रय दिने र सम्भव भएमा नेपाली नागरिकता र पासपोर्ट दिलाउने काम पनि गर्थे।
उनले सबैभन्दा सुरुमा बब्लु श्रीवास्तव उर्फ ओमप्रकाश श्रीवास्तवलाई ०४९ सालमा कपिलवस्तुबाट अरूण अग्रवालको नाममा नेपाली नागरिकता दिलाएका थिए।
कस्टम कलेक्टर अरोडाको हत्यापछि बल्लु नेपालमै लुकेर बसे। उनलाई समात्न भने ०५० सालमा काठमाडौं आएको भारतीय प्रहरीको हतियारधारी दस्ताले नयाँ बानेश्वरमा छापा मार्दा ठूलो हंगामा भएको थियो।
पछि नेपाल प्रहरीले १९९४ अक्टोबरमा त्रिपुरेश्वरस्थित होटल अर्किडमा बब्लुलाई पक्रियो तर सांसद मिर्जाले जमानत बसेर उनलाई छुटाए। त्यसको केही महिनापछि भारतले इन्टरपोलको मदतबाट उनलाई सिंगापुरको चाँगी विमानस्थलमा गिरफ्तार गरेको थियो।
केही महिनाअघि छोटा राजन गिरोहले दुबईको सडकमा गोली हानेर मारेको सुनील सावन्त उर्फ सावत्या पनि सुरुमा नेपालमै बसेका थिए। दाउद गिरोहका सुनीललाई दुई वर्षअघि मिर्जाले संरक्षण दिएर नेपालमा राखेका थिए। यहाँ उनी अरूणको नामबाट चिनिन्थे।
मिर्जा राष्ट्रिय राजनीतिमा आएको सात वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको माफियामा परिणत भएको भारतीय पक्षको दाबी थियो। हत्या हुनुभन्दा एक महिनाअघि भारत सरकारले नेपालसमक्ष उनलाई सुपुर्दगी गर्नुपर्ने माग इन्टरपोलमार्फत् राखेको थियो।
भारतको उत्तर प्रदेश सरकारले मिर्जाविरुद्ध ६ वटा फौजदारी मुद्दाको कारबाही अघि बढाएर सुपुर्दगीको प्रयास थालेको थियो।
कसरी र किन भयो हत्या?
पाँच वर्षअघि दाउद गिरोहबाट फुटेको छोटा राजन समूह अहिले मुम्बई अन्डरवल्र्डमा दाउदको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी गिरोह भएको छ। मुम्बईकै अरूण गवली समूह र उत्तर प्रदेशमा सक्रिय बब्लु श्रीवास्तव गुट पनि छोटा राजनसँग मिलेर दाउदविरुद्ध क्रियाशील थिए।
उनीहरू र दाउद गिरोहबीच भिडन्त भइरहँदा पनि यता नेपालका माफिया मिर्जाले चाहिँ सबैसँग नजिककै सम्बन्ध राख्न सफल थिए।
मिर्जाको एउटा सदाबहार शैली के थियो भने, उनी आफ्नो फाइदाअनुसार जुनसुकै गिरोहका लागि पनि काम गर्थे। तर केही समयता उनी दाउदसँग बढी निकट भएको यथार्थ अपराध जगतबाट छिपेको थिएन।
दाउद र मिर्जा दुवैजना मुस्लिम समुदायका भएका कारण उनीहरूबीच निकटता बढ्न अझ सजिलो भयो। मिर्जा हज गरेर र्फकंदा पनि दाउदको कराँचीस्थित निवासमा अतिथि भएर बसेका थिए।
मिर्जाले सुन, हतियार र लागूपदार्थको तस्करीजस्ता अवैध कारोबारहरू गर्ने गरेको तथ्य प्रहरीले फेला पारेको थियो।
यसबाहेक उनले अन्तर्राष्ट्रिय गिरोहहरूका लागि नेपालस्थित एजेन्टको भूमिका पनि निर्वाह गर्थे। ती गिरोहले विभिन्न भारतीय सहरहरूबाट उठ्ने रकम मिर्जालाई माध्यम बनाएर लिन्थे र मिर्जाले त्यसबापत निश्चित कमिसन पाउथे।
सोही क्रममा भारतको एक अपहरण काण्डबाट आएको तीन करोड रुपैयाँ उनले छोटा राजनलाई बुझाउनुपर्ने थियो तर आफंैले लिइदिए। त्यसपश्चात् मिर्जा र राजनबीच खटपट चरमचुलीमा पुग्यो।
सोही घटनापश्चात् राजनले मिर्जाको हत्या गर्ने योजना बनाएको बताइन्छ।
वास्तवमा सांसदबाट मन्त्री भएपछि मिर्जाले माफिया डनहरूलाई नजरअन्दाज गर्न थालेका थिए। जबकि डनहरूचाहिँ उनलाई आफ्नो मामुली एजेन्टभन्दा माथिल्लो दर्जामा राख्दैनथे।
मिर्जाले दाउदसँग लागेर बारम्बार ’धोका’ दिन थालेपछि बब्लु श्रीवास्तव पनि उनको ज्यानको दुस्मन भएका थिए। बब्लु गिरोहका हिटमेन विक्रम सिंह वाही उर्फ बिक्कीलाई मिर्जाले मारेपछि उनीहरूमाझको शत्रुता एक्कासि अकासिएको थियो।
भारतका क्यासेट किङ गुलसनकुमारका हत्यारा बिक्कीले दाउद इब्राहिमका लागि काम गरे पनि उनी भित्रभित्रै बब्लुसँग मिलिसकेका थिए। सो कुरा थाहा पाउनेबित्तिकै दाउदले उनलाई सुन बोक्ने प्रलोभनमा दुबईबाट नेपाल पठाए र मिर्जामार्फत् कुशलतापूर्वक उनको हत्या गराएको बताइन्थ्यो।
कृष्णनगरस्थित मिर्जाकै घरमा मारिएका बिक्कीको लासका टुक्राहरू कृष्णनगर र सीमापारि बढ्नीमा फेला परेका थिए। यी सबै कारणबाट छोटा राजन र बब्लु गिरोहका लागि मिर्जा नम्बर एक शत्रु हुन पुगे।
मिर्जाको हत्यापछि दाउद गिरोहले प्रतिशोधको कारबाही थालिसकेको थियो जसले गर्दा भारतीय सहरहरूमा फेरि ‘ग्याङ वार’को मौसम छायो।
मिर्जा मारिएकै दिन मुम्बईमा दाउद गिरोहका मोहम्मद जिन्दान छोटा राजनका हिटमेनहरूद्वारा मारिएका थिए। त्यसको भोलिपल्टको भिडन्तमा सलिम कुर्लासहित दुईजना मुम्बईमा र तीनजना बैंग्लोरमा मारिए भने असार १८ गते दाउदका लागि काम गर्ने दक्षिण मुम्बईको दिलवर होटलका मालिक सारस इरानीको हत्या गवली गिरोहका दिलीप कुलकर्णले गरे। त्यसको भोलिपल्ट मुम्बईमै आपसी भिडन्तबाट दुईजना ठहरै भए। अझै पनि ग्याङ वार रोकिएको थिएन।
माफियाहरूका निम्ति सुखद मरण दुर्लभ हुन्छ। मिर्जा पनि यसका अपवाद भएनन्। तर खतरा त के छ भने माफिया गतिविधिबाट अपेक्षाकृत शान्त रहेको नेपालमा पनि ग्याङ वारका रूपहरू देखा पर्न थालेका छन्। यस्तो प्रवृत्तिले प्रोत्साहन पाउनुमा सरकारी रवैया बढी जिम्मेवार छ।
राप्रपाका दलबदलु सांसद मिर्जा दिलसाद वेग हरेकचोटिको दलीय समीकरणमा सत्ताको साँचो बनिदिन्थे। त्यही भएर हरेक पार्टी सांसदको जोड–घटाउमा मिर्जाको महत्त्वलाई ख्याल गर्दै उनको अपराधकर्मलाई बिर्सिदिन्थे, जसले गर्दा देशमा भित्रिरहेको मुम्बई–माफियाको जालो मजबुत हुँदै गयो। यस अर्थमा मिर्जाको हत्या नेपाली राजनीतिहरूका निम्ति ठूलो पाठ बन्यो।
माफिया डन छोटा राजनले मिर्जाको हत्याको जिम्मेवारी लिएपछि सरकारले त्यसलाई नै अन्तिम सत्य मानेर मौन बस्ने हो कि उच्चस्तरीय छानबिन आयोग बनाएर षड्यन्त्रको जरासम्म पुग्नुपर्ने हो, सरकार हाँक्नेहरू हालसम्म दोधारमै देखिए।
मिर्जाको हत्या कुनै गुप्तचर संस्थाले गराएको भए पनि वा दाउद र राजन गिरोहबीचको भिडन्तको परिणाममात्र भए पनि अब यस्ता खाले घटना दोहोरिनु पहिलेजस्तो प्रतिकूलता रहेन।
उता, सांसद मिर्जा दिलसाद वेगको सनसनीपूर्ण हत्याको जिम्मेवारी लिएर मुम्बई–माफियाका एक डन छोटा राजन उर्फ राजेन्द्र सदाशिव निखल्जेले अर्का सनसनी मच्चाए।
मलेसियाको राजधानी क्वालालम्पुरमा बसेर अवैध कारोबारको अन्तर्राष्ट्रिय नेटवर्क चलाउने राजनसँग भारतीय साप्ताहिक इन्डिया टुडेलाई जुलाई २०, १९९८मा अन्तरवार्ताका क्रममा केही विषय बताएका थिए।
मिर्जा वेगलाई तिमीले मारेको आशंका गरिन्छ नि? भन्ने प्रश्नमा छोटा राजनले भनेका थिए–
हो, मैले उसको हत्या गर्ने आदेश दिएको थिएँ। जुन मान्छेहरूले ‘ट्रिगर’ दबाए, तिनीहरू मेरा ‘हिटमेन’ हरू हुन्। उसले आईएसआईका लागि काम गरिरहेको थियो। ऊ हात–हतियार, आरडीएक्सलगायतका विस्फोटक पदार्थ भारतमा भित्राउने मुख्य व्यक्ति हो। दाउद इब्राहिमसँग पनि उसको नजिकको सम्पर्क थियो। दाउदसँग लाग्ने हरेक व्यक्ति मेरो शत्रु हो। अब वेग नरहेपछि नेपालबाट आपराधिक गतिविधि सञ्चालन गर्न दाउदलाई सजिलो हुने छैन।
दाउदका सबै सहयोगीहरू वेगका अतिथि हुन्थे। उसले तिनीहरूलाई आश्रय दिने गर्दथ्यो, मनोरञ्जन गराउँथ्यो र नेपाली पासपोर्ट दिलाउनसमेत मदत गथ्र्याे। उसले आईएसआईमार्फत् भारतमा आतंक फैलाइरहेको थियो। कोयम्बटुर बम विस्फोटमा पनि उसको हात थियो, जसमा एलके आडवाणी –भारतीय गृहमन्त्री) लाई निशाना बनाइएको थियो।
म भारतविरोधीहरूलाई मात्र मार्छुं। सलिम कुर्ला र मोहम्मद जिन्द्रानको हत्या पनि मेरै आदेशमा भएको थियो। तिनीहरू किन मारिएका थिए भने तिनीहरू मुम्बई विस्फोटका अभियुक्त थिए। म सबै अभियुक्तहरूलाई एक–एक गरी मार्नेछु। अहँ, तर यदि मलाई प्रस्ताव राखेको भए, म सहयोग गर्न हिच्किचाउने थिइनँ।
नेपालमा यीबाहेक पनि भारतीय डनहरुले अन्य हत्याकाण्ड पनि निरन्तर मच्चाइरहे। खासगरी नेपालमा मुस्लिम लिगका नेताका रहस्यमय हत्या, जमिम शाह हत्या प्रकरणमा पनि यस्तै यस्तै कारणका कथा रहेको पाइन्छ।
(यो सामग्री विभिन्न नेपाली, भारतीय मिडिया र इन्टरनेटमा उपलब्ध सामग्रीका आधारमा तयार पारिएको हो। सम्पादक)