नेभिगेशन
राजनीति

माधव नेपालसँग लाग्दा झलनाथको ‘राजनीतिक बिजोग’, एमाले छाडेर गल्ती गरेको कबुले

उमेरले पाका र एमालेको दुई पटक नेतृत्व सम्हालिसकेर समाजवादीमा पुगेका खनालका लागि पार्टीमा दोस्रो तहको नेता बनेर बस्न मन छैन। उनको बरियता माधवकुमार नेपालपछि रहेको छ

काठमाडौं– अङ्कमाल गरेर बामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा भित्राएका सम्मानित नेता झलनाथ खनाललाई एमालेबाट अलग हुनुको पीर परेको खुलेको छ।

अरुले नभई उनी आफैंले यस्तो पीडाबोध भएको सार्वजनिक गरेका हुन्। कम्युनिस्ट पार्टीको बलियो दल बनाउने घोषणासहित नेकपा विभाजनसँगै तेस्रो कित्ताको कम्युनिस्ट पार्टी बनाउन माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन गर्न अग्रसर रहेका उनी यसबीचमा पनि यस्तो संकेत दिने गर्दथे। 

त्यसको प्रमाण नेकपा एमालेको चियापानको कार्यक्रममा च्यासल पुग्नुलगायतको रहेको थियो। बीच बीचमा एमालेमा पुग्नका लागि रातो कार्पेट समेत तयार पारिएको चर्चा नभएको होइन। 

तर, उनलाई अध्यक्ष केपी शर्मा ओलीले चाँडै स्वागत गर्न चाहेनन्। अहिले भने खनाललाई गलत नै लाग्नुका मुख्य दुई कारण रहेको विश्लेषण गरिएको छ।

उमेरले पाका र एमालेको दुई पटक नेतृत्व सम्हालिसकेर समाजवादीमा पुगेका खनालका लागि पार्टीमा दोस्रो तहको नेता बनेर बस्न मन छैन। उनको बरियता माधवकुमार नेपालपछि रहेको छ।

बरियतासँगै एकीकृत समाजवादी बलियो बनाउन नसक्नु, एमालेलाई फुटाएर ठूलो शक्ति बन्नुको साटो आफ्नै दल क्षयीकरण हुनु पनि रहेको छ। क्षयीकरण मात्र होइन, एमालेमा नै आएका नेता कार्यकर्ता समाहित हुँदा खनालले गल्ती महसुस गरेको पनि बुझिन्छ।

७० बर्षे उमेर सीमा र दुई कार्यकाल विधानबाट हटाउने निर्णयपछि खनाललाई एमाले छाड्नु गल्ती रहेको लाग्न थालेको छ। सार्वजनिक रुपमा नै उनले भनेका छन्,‘हामीले कम्युनिस्टको केन्द्र मिहेनत गरेर नेकपा एमाले बनाएका थियौं। किन त्यो पार्टी छाड्यौं भन्ने अहिलेसम्म पनि औचित्य पुष्टि गर्न सकेनौं। त्यो गल्ती थियो भन्ने प्रष्ट भयो।’

खनालले पहिलो संविधान सभा निर्वाचनमा माधवकुमार नेपालले राजीनामा दिएपछि एमालेको नेतृत्व सम्हालेका थिए। त्यसपछि आठौ महाधिवेशनमा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए। 

उमेरले पाका बनिसकेका उनमा अब एमालेको नेतृत्वमा फर्किने लोभ पनि जागेको छ। जसरी ७० बर्षको उमेरसीमा र दुई कार्यकाल हटेपछि यस्तो महत्वकांक्षा पलाएको भन्ने पनि मानिन्छ। 

‘राजनीतिमा कहिले पनि रिटार्यड हुन नचाहने प्रवृत्तिको मानकका रुपमा बलियो शक्ति रहेको एमालेमा फेरि नेतृत्व गर्न सकिने मनसाय खनालमा पलाएको हुन सक्छ’, एक नेता भन्छन्,‘अहिले विद्या भण्डारी सक्रिय हुने विषयमा ओलीले रोक लगाएका कारण अब त्यसको विकल्प बन्न सकिन्छ कि भन्ने पनि लोभ होला।’

यो लोभ पलाउनुको कारण एमालेले जनताको बहुदलीय जनवादलाई विस्तारै पाखा लगाउन थाल्नु पनि खनालका लागि लाभदायक जस्तो भएको पाइन्छ। किनकी, जबजको साटो जनताको नौलो जनवादको अवधारणा एमालेमा प्रस्तावित गर्ने नेता खनाल नै थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति