नेभिगेशन
राजनीति

ओली–प्रचण्ड आलोचकलाई स्टालिनलेझैं राजनीतिक सफाया गर्दैछन् : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शत्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्टालिनसँग तुलना गरेका छन् ।

‘हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्देनौं’ भन्ने अंग्रेजीमा चर्चित भनाइ उद्दरण गर्दै उनले नेपालका कम्युनिष्ट स्टालिनकालीन रूसी कम्युनिष्ट आन्दोलनकै दिशामा अघि बढेको आरोप लगाएका छन् ।

‘मूलतः २०२८–३१ को झापा आन्दोलन र २०५२–०६२ को जनयुद्धको जगमा उभिएको नेपाली कम्युनिष्ट आन्दोलन संसारको पहिलो र करिब ७५ बर्षसम्म सत्तामा रहेर अहिले विलोप भएर गएको रूसको कम्युनिष्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भैरहेको देखिनु बिडम्वनापूर्ण छ,’ उनले भनेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको तीव्र वैचारिक स्खलन-बन्ध्याकरण र राज्य सत्ता सचालनको प्रवृत्ति, अवस्था हेर्दा ब्रेजनेभ–कालको झल्को आउने भट्टराईले टिप्पणी गरेका छन्।

रूसी कम्युनिष्ट नेता ब्रेजनेभ–कालको जस्तो अहिलेको कम्युनिष्ट पार्टीहरूको अवस्था सुन्निएर मोटाएको जस्तो देखिएको उनले बताएका छन् । ‘पटक–पटक सत्तामा बस्दा पनि कुनै गुणात्मक र उल्लेख्य रूपान्तरणकारी उपलब्धी छैन तर गफ चाहिँ रूसका भूपू कमरेडहरूले मिति नै तोकेर २० बर्षभित्र साम्यवाद आउँछ भनेझै यहाँ पनि समाजवाद–साम्यवाद को डिङ हान्न र कार्यकर्ता अल्मल्याउन भ्याएकै छन्,’ उनले कटाक्ष गरेका छन् ।

एमाले र माओवादीभित्र भित्री पार्टी सम्बन्ध, अथवा सनातनी कम्युनिष्ट पदावली अनुसार अन्तर–पार्टी संघर्ष स्टालिनकालको कालखण्डको जस्तो भएको चित्रण गरेका छन् । ‘यहाँ पनि स्टालिनको मुख्यतः सन् १९२७–३८ कालखण्डको झल्को दिने गरी मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता–कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाका निम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हाबी छ,’ उनले भनेका छन्, ‘यस सन्दर्भमा अझै विडम्वनापूर्ण र हास्यास्पद प्रवृत्ति र घटना त के भने जसरी रूसमा स्टालिनले लेनिनको पालादेखिका सबै प्रमुख समकक्षी र आफ्ना प्रतिष्पर्धी नेताहरूलाई पालैपालो भौतिक रूपले नै सफाया गरेका थिए ।’

अहिले त्यसकै झल्को आउने गरी अहिले नेपालका कम्युनिस्ट पार्टी, विशेष गरेर अध्यक्ष ओली र प्रचण्डले आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समातेको उनको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति