नेभिगेशन
समाज विविध

भारतले नेपालमा पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गर्ने

काठमाडौँ- भारत सरकारको अनुदान सहयोगमा नेपालमा पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालनमा हुने भएको छ। 

शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित यी परियोजनाहरूका लागि काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो।

परियोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ। यी परियोजनामार्फत धनुषा, पर्सा, अछाम, बारा र मनाङ जिल्लामा विद्यालय तथा अस्पताल भवनको निर्माण गरिनेछ। 

धनुषाको बटेश्वर गाउँपालिका-३ मा जनशक्ति माध्यमिक विद्यालय, पर्साको पोखरिया नगरपालिकामा महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा बासुकी माध्यमिक विद्यालयको भवन निर्माण हुने छ भने बाराको प्रसौनी गाउँपालिका-२ मा बेंगा साह माध्यमिक विद्यालयको नयाँ भवन, छात्रावास र पुस्तकालय निर्माण गरिने छ।

यसैगरी मनाङको नासो गाउँपालिका-५ मा पाँच शय्याको अस्पताल भवन निर्माण गरिनेछ। यी सबै परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय र सम्बन्धित संस्थाहरूको सहकार्यमा कार्यान्वयन हुनेछन्। परियोजनाहरू सम्पन्न भएपछि ती क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने विश्वास गरिएको छ।

भारत सरकारले सन् २००३ यता नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ। तीमध्ये ४९६ परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी विभिन्न चरणमा रहेका छन्। यी परियोजनाहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल, सरसफाइजस्ता क्षेत्रमा योगदान पुर्‍याएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध