नेभिगेशन
राजनीति

शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छन् । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, कानून, न्याय तथा मानवअधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेका हुन् ।

सबै समितिका बैठक बिहान ११ देखि दिउँसो १ बजेको बीचमा सिंहदरबारस्थित आआफ्नै कार्यकक्षमा बस्ने छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मधेसी आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०–०८१) माथि छलफल हुनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग सम्बन्धित छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति