नेभिगेशन
राजनीति

सामान्य प्रशासनमन्त्री गुप्ताविरुद्ध अख्तियारले पनि गरिरहेको छ छानबिन, यो अर्को काण्ड हो

काठमाडौं– घुस काण्डको अडिओ लिक भएपछि बर्खास्तगीको मागसहित छानबिन गरिनुपर्ने संघीय मामिला र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत अर्को प्रकरणमा उजुरी परेको छ।

अख्तियार स्रोतका अनुसार मन्त्री गुप्तामाथि छानबिन जारी राखिएको छ।

गुप्ताले घुस लिएको भन्दै गत असार १० गते उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो। 

उजुरीमा गुप्ताले गत वर्षको पुसमै कास्कीस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको थमौती गरिदिने भन्दै ५३ लाख घुस लिएको आरोप लगाइएको छ।

पछिल्लो पटक भने गुप्ता र भूमी सुधार मन्त्री वलराम अधिकारी भ्रष्टाचार मुद्धामा संलग्न भएको समाचार र अडिओ छताछुल्ल सार्वजनिक भईसक्दा पनि उनीहरु पदमै रहेका छन्। 

यस प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओलीको सुशासन आयोगमाथि पनि प्रश्न उठाएको छ।

गुप्ताले कर्मचारी सरुवामा पनि हाकाहाकी रकम माग गर्ने गरेका थिए। उनले पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउने क्रममा पनि सिधा घुस माग गर्ने गरेको उच्च स्रोतले जनाएको छ।

उनको पछिल्लो प्रकरणमा सदनमा समेत प्रश्न उठेको थियो। गुप्ताका कारण नै प्रधानमन्त्री ओली समेत नैतिक दबाबमा परेका छन्। 

सदनमा रास्वपा सांसद सुमना श्रेष्ठले शनिबार मात्र भनेकी थिइन्,‘त्यो अडिओमा बा भनेको को हो? को बा हो?’ सामान्यतया प्रधानमन्त्री ओलीलाई एमाले कार्यकर्ताले बा भनी सम्बोधन गर्नेतिर श्रेष्ठको संकेत थियो।

भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका दुबै मन्त्रीलाई तत्काल बर्खास्त गरी कार्बाही गर्नका लागि विवेकशील साझा पार्टीले पनि माग गरेको छ। 

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि मन्त्री गुप्तासहित यस प्रकरणमा छानबिनको दायरामा अन्यलाई तान्नका लागि माग गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति