नेभिगेशन
समाज विविध

इराकबाट फर्केर गाउँ कृषि कर्ममा

म्याग्दी- रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुटेका छन् ।

गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुगेका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटक–पटक प्रयास गर्दा पनि सफलता नमिलेपछि उनले गाउँ फर्किएर माटोमै पसिना बगाएर आत्मनिर्भर बन्ने योजना बनाएका थिए ।

गाउँ छाडेको ३५ वर्षसम्म नवलपरासीमा बसेर जीविकोपार्जन गरेका पुर्जा विगत चार वर्षदेखि भने आफ्नो जन्मगाउँ काफलडाँडा फर्किएका थिए । गाउँ फर्किएर पुर्जाले आधुनिक कृषि खेतीलाई पेसाका रूपमा अघि बढाएका छन् । डेमरकटेरा टोलमा उनको तरकारी खेतीको कृषि फार्म रहेको छ । दुईवटा हाइटेक प्रविधिसहितको तीनवटा टनेलमा गोलभेँडा खेती गरेका पुर्जाले कृषि फार्मबाट आम्दानी गर्न सुरु गरेका छन् । टनेलमा स्थानीयस्तरका काठ, निगालो र डोरीको प्रयोग गरी गोलभेँडा खेती गरिएको छ ।

एउटा टनेलबाट वार्षिक चार लाख बढीको कृषि उपज उत्पादन गर्ने लक्ष्य राखेका पुर्जाले गोलभेँडा खेतीबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको बताए । ‘मैले उत्पादन गरेको गोलभेँडा स्थानीयस्तरका साथै पर्वत बेनी र जिल्ला सदरमुकाम बेनीमा खपत हुने गरेको छ, स्थानीय प्रविधिलाई प्रयोग गरेर गोलभेँडा उत्पादन गर्ने गरेको छु, गाइभैँसी र कुखुराको मल प्रयोग गरेको छु, रोग कीरा लागेमा गाईभैँसीको गहुत र तितेपातीको झोल प्रयोग गर्छु, विषादीको प्रयोग गरेको छैन’, उनले भने ।

कुमार पुर्जा कृषि तथा पशुपंक्षी फार्म दर्ता गरेका पुर्जाले फार्म स्थापना गर्न अहिलेसम्म करिब रु छ लाख लगानी गरिसकेको जानकारी दिए । लामो समयसम्म नवलपरासीमा घर निर्माणसम्बन्धी काम गरी घरपरिवारको जीविकोपार्जन गरेका पुर्जाले रोजगारको सिलसिलामा कतारमा २० महिना बसेर फर्किएका थिए भने इराकमा दुई पटकसम्म पुगेर फर्किएका थिए । श्रीमती, छोराबुहारीलगायत परिवार नवलपरासीमै रहे पनि पुर्जा भने जन्मथलो फर्किएर कृषि खेतीमा रमाउन र कमाउन थालेका छन् । जीवनमा धेरै दुःख, कष्ट र हण्डर खेपेका पुर्जाले बाउबाजेको थातथलोमा पसिना बगाएर आत्मनिर्भर बन्ने सपना बुनेका छन् । बिहानदेखि बेलुकीसम्म आफ्नै कृषि फार्ममा व्यस्त हुने पुर्जाले अन्य व्यक्तिहरूलाई समेत अस्थायी रूपमा रोजगारी दिने गरेका छन् । गोलभेँडा खेतीसँगै पुर्जाले काफलडाँडामा परीक्षणको रूपमा स्याउ खेती विस्तार गरेका छन् ।

करिब पाँच रोपनी जग्गामा खेती गर्दै आएका पुर्जाले ७० वटा स्याउका बिरुवा लगाएका छन् । यसअघि लगाएका बोटले फल दिएपछि व्यावसायिक रूपमा स्याउको खेती विस्तारमा जुटेको उनले बताए । कृषिलाई व्यावसायिक र व्यवस्थित गर्न पुर्जाले कृषि फार्ममा थोपा सिँचाइको प्रबन्ध गरिएको छ । गत चैत महिनामा लगाएको गोलभेँडा फल्न थालिसकेको छ । तीनवटा टनेलमा पुर्जाले करिब एक हजार पाँच सय गोलभेँडाका बिरुवा लगाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध