नेभिगेशन
समाज विविध

कालिगण्डकी करिडोर फेरि अवरुद्ध

गुल्मी- गुल्मी जिल्लाको कालिगण्डकी करिडोर सडक फेरि पहिरोले अवरुद्ध भएको छ ।

आज (आइतबार) बिहान कालिगण्डकी गाउँपालिका–६ बर्लवा तथा वडानम्बर–१ गरगरे क्षेत्रमा चट्टानसहितको ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

उनका अनुसार माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएको हो। यसले यात्रु र स्थानीयवासी प्रभावित भएका छन् । बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

टोलीले सडक खुलाउने कार्यमा पहल थालेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको एसपी अधिकारीले जानकारी दिए । कालिगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक–पटक पहिरोले अवरुद्ध हुने गरेको छ । एसपी अधिकारीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध