नेभिगेशन
राजनीति

ज्ञानेन्द्रका संवाद सचिव डा. पाठक पक्राउपछि रिहाईः राप्रपा नेताले उठाए बहस

काठमाडौं– ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई पक्राउ गरी सोधपुछ गरी छाडिएको विषयमा राप्रपाका नेताहरुले बहस उठाएका छन्।
आलोचना गर्दै उनीहरुले यस विषयलाई अस्थामाथि राज्यको आक्रमण भनेका छन्।

शुक्रबार पक्राउ परेका पाठकलाई ‘श्री ५’ जस्ता संविधानले नचिनेका शब्दहरू नलेख्न कागज गराएर प्रहरीले साँझ रिहा गरेको थियो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘श्री ५’ जस्ता सम्मानसूचक शब्दहरू व्यक्तिको आस्थासँग सम्बन्धित विषय भएको र यसमा सरकारले हस्तक्षेप गर्न नहुने भन्दै आलोचना गरेका हुन्।

अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेख्दै ‘श्री ५’, ‘श्री १०८’, ‘श्री १००८’ जस्ता सम्मानहरू व्यक्तिको आस्थासँग सम्बन्धित विषय भएको जनाएका छन्। 

‘यो संविधान वा कानुनको विषय होइन, नेपालमा अहिले पनि राजा ज्ञानेन्द्रलाई श्री ५ को रूपमा सम्मान गर्ने जनसमुदायको ठूलो र सशक्त पंक्ति छ। म पनि राजालाई त्यही रूपमा सम्मान गर्छु।’

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजा सधैँ राजा नै हुने र इतिहासले दिएको उपाधि तथा जनताको हृदयबाट उक्लिएको सम्मानलाई कुनै कानुनले रोक्न वा कुनै पदले थाम्न नसक्ने बताएका छन्। 

उनले भनेका छन्,‘प्रधानमन्त्रीज्यू, विदेशीका दलालहरूलाई दलाल नै भनिन्छ, आफ्नो जनताको लागि वैभव र शक्ति त्याग्नेलाई राष्ट्रप्रेमी र श्री ५ नै भनिन्छ, जिउँदै मान्छे जलाउनेलाई माफ दिई घोटाला र काण्ड गर्नेलाई भ्रष्टाचारी र अपराधी नै भनिन्छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति