नेभिगेशन
बैंक–वित्त

कर कट्टी विवरण मिलानका लागि प्यान अपडेट गर्नुस् : एनआईसी एसिया बैंक

काठमाडौँ- एनआईसी एसिया बैँकले ग्राहकहरूलाई आफ्नो खातामा प्यान नम्बर अपडेट गर्न अनुरोध गरेको छ । मोबाइल बैँकिङ तथा वेबसाइटमार्फत प्यान अपडेट गर्न सकिने व्यवस्था मिलाएको बैँकले अन्यथा ग्राहक नै जिम्मेवार हुने भन्दै यस्तो अनुराेध गरेको हो ।

बैँकका ग्राहकहरूको खाताबाट गरिएको कर कट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने हुन्छ । एनआईसी एसिया बैँकले यसका लागि आफ्नो वेब पोर्टल panupdate.nicasiabank.com र मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा मार्फत प्यान अपडेट गर्न सकिने व्यवस्था मिलाएको छ ।

ग्राहकहरूलाई यथाशीघ्र प्यान अपडेट गर्न भन्दै बैँकले आफूलाई पायक पर्ने बैँकको नजिकैको शाखा कार्यालयबाट समेत प्यान अद्यावधिक गर्न सकिने प्रबन्ध मिलाइएको छ । बैँकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अनिवार्य छ ।

उक्त प्यान अद्यावधिक भएपश्चात् सम्बन्धित ग्राहकको कर कट्टीको विवरण (ई-टीडीएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा कर कट्टीको विवरण मिलान गर्दछ । जसले गर्दा ग्राहकहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैँकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने विश्वास बैँकले लिएको छ ।

प्यान अद्यावधिक नगराएका कारणले ई-टीडीएसमा ब्याज कर दाखिला नभएमा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेमा बैँक जिम्मेवार नहुने समेत उल्लेख छ । साथै, यसअघि बैँकलाई प्यान उपलब्ध गराएर पनि कर कट्टीको विवरण समावेश नभएको खण्डमा भने बैँकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बर १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्