नेभिगेशन
समाज विविध

कृषकका लागि समयमै मलखाद उपलब्ध गराउन सांसद साउदको माग

काठमाडौँ- सांसद नारायण प्रकाश साउद (एनपी साउद)ले धान रोपाइँको समयमा किसानहरूलाई आवश्यक मलखाद समयमै उपलब्ध गराउन नसक्नु गम्भीर विषय भएको बताएका छन्।

बुधबार संसदमा बोल्दै उनले नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको र यसले अर्थतन्त्रमा २४ प्रतिशत योगदान दिएको उल्लेख गरे।

सांसद साउदले कञ्चनपुरलगायतका जिल्लाहरूमा जेठदेखि नै रोपाइँ सुरु हुने भए पनि मलखादको अभावले किसानहरूको लगानी, परिश्रम र आशामाथि तुषारापात भएको बताए। उनले मलखादको अभावले वर्षभरिको खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूतिमा जोखिम आउन सक्ने चेतावनी दिए।

“कृषिप्रधान देशले खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु आफैँमा विडम्बना हो,” उनले भने। दीर्घकालीन समाधानका लागि ठूलो विद्युत् परियोजना समर्पित गरी मल कारखाना स्थापना गरेर सस्तो रासायनिक मल उत्पादन गर्न र आन्तरिक खपतसँगै निर्यात प्रवर्द्धन गर्न सकिने उनको सुझाव छ।

अल्पकालीन रूपमा सरकारले किसानका समस्याप्रति संवेदनशील भई तत्काल मलखाद उपलब्ध गराउन र आपूर्ति चक्रलाई नियमित, व्यवस्थित र दिगो बनाउन साउदले सभामुखमार्फत सरकारसँग जोडदार माग गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध