नेभिगेशन
राजनीति

दश भाइले उचाले र हात छाडे, समातेर निर्वाचन आयोगमा लगेकी झाँक्री ‘निकाल्न’ खोज्दैछिन्

पार्टी गठन र एमालेबाट बहिर्गमनका लागि झाँक्रीको भूमिका प्रधान रहेको थियो

काठमाडौं– बिगत ५ बर्षमा माधवकुमार नेपालको राजनीतिमा निक्कै गोरेटो, मोड र बिग्रहको अवस्था देखा परेको छ।

पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपिठको जग्गा प्रकरणमा मुद्दा दायर गरेको र विशेष अदालतले ३५ लाख धरौटी राख्न आदेश गरेपछि त झनै एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई थप झड्का लागेको छ।

यहि बीचमा माधवकुमार नेपाललाई अध्यक्षबाट हटाउने र अर्ली महाधिवेशनमा जानुपर्ने धारणा रामकुमारी झाँक्रीले राखेकी छन्। यसले अध्यक्ष नेपाललाई नमिठो ‘चोट’ दिएको छ।

नमिठने यसकारण कि उक्त पार्टी गठन र एमालेबाट बहिर्गमनका लागि झाँक्रीको भूमिका प्रधान रहेको थियो। यहाँसम्मकी पार्टी दर्ताका लागि झाँक्रीले माधवकुमार नेपालको हात समातेर नै निर्वाचन आयोगसम्म लगेको विषय चर्चित थियो। 

उक्त तस्बिरको सान्दर्भिकता त्यस समयमा निक्कै ब्यापक बनेको थियो। 

हेर्नुहोस् यो तस्बिर।
jhakri-1751429196.jpg
पार्टी दर्ताका बेला माधवकुमार नेपाल त्यति खुशी थिएनन्। उनलाई साथ र सहयोग गर्ने भनिएका एमालेका १० भाईले धोका दिएको बताएका थिए। 

‘मलाई अगाडि धकेले, पछाडि हेर्दा त कोही पनि छैन’, माधवकुमार नेपालले त्यसबेला दिएको यो अभिव्यक्ति अत्यन्तै चर्चित बनेको थियो। अहिले पनि सामाजिक सञ्जालका कतिपय फोरम र युट्युवमा पनि त्यो भिडिओ भेट्न सकिन्छ। 

१० भाई मध्यका घनश्याम भुसाल एमाले उपाध्यक्षमा पराजित भएपछि माधव नेपालसँग जोडिए। जहाँ उनलाई महासचिव पदको जिम्मेवारी दिइएको छ। महाधिवेशनले पनि उनलाई महासचिवमा अनुमोदन गरेको छ।

प्रभावी मानिएका अर्का नेता भिम रावल एमाले अध्यक्षमा पराजित भए पनि समाजवादीमा प्रवेश गरिसकेका छैनन्। उनी पनि १० मध्यका अर्का भाई हुन्। 

बाँकी ८ जना भने एमालेमा समाहित भए। युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता अहिले एमालेका उपाध्यक्ष र सचिवको जिम्मेवारीमा रहेका छन्।

यीनलाई पनि माथ दिनेगरी दरिलो खुट्टा उचालेका कारण एमाले विभाजनपछि माधवकुमार नेपालले झाँक्रीलाई पार्टीको सचिव पद मात्र दिएनन्, तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्री समेत बनाए। 

झाँक्री त्यहिँदेखि नै पार्टी नेतृत्वप्रति असहिष्णु बन्न थालेको समाजवादीका अन्य नेता बताउँछन्। ‘मन्त्री बनेपछि उहाँले पार्टीसँगको नाता, पार्टी नेताको निर्देशनलाई मान्न छाड्नुभयो, मनोपोली गर्नुभयो। मनपरी बोल्न थाल्नुभयो’, समाजवादीका एक नेताले भने,‘अब त महाधिवेशन गरी अध्यक्ष नै परिवर्तन गर्नुपर्छ भन्न थाल्नु भएको छ। यहाँसम्मकी नेतालाई लागेको आरोप पुष्टि भएको छैन, सिनो भन्न थाल्नुभयो।’

हुन त अध्यक्ष नेपाललाई पार्टी भित्र मात्र प्रयोग गरिएन। तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अर्को अध्यक्ष बनाउने लोभमा पारेका पुष्पकमल दाहाल प्रचण्डले पनि प्रयोग गरी एमाले विभाजनमा सघाएका थिए। 

अहिले माओवादीमा एकीकरणको प्रस्ताव राखेका छन् तर एकताको विषयलाई थाँती पनि राखेका छन्। जीवनमा पहिलो पटक भ्रष्टाचारको दाग लागेका नेपालनिकट एक जना भन्छन्,‘उहाँ जीवनको उत्तरार्धमा आएर उपयोग र आरोपको भारी बोक्न बाध्य हुनुभयो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति