नेभिगेशन
सुरक्षा–अपराध

बलात्कारमा सफाई पाएकाको अनुसन्धान अधिकारीसँग ह्याप्पी बर्थ डेः आईजीको निर्देशन पुग्नासाथ एसपी नेतृत्वमा छानबिन समिति

काठमाडौं– जबरजस्ती करणीको मुद्दामा सफाइ पाएलगत्तै आकाश आदर्शले अनुसन्धान अधिकारी इन्स्पेक्टरसँग जन्मदिनको पार्टी गरेको विषयको छानबिनका लागि प्रहरी उपरिक्षक (एसपी)को नेतृत्वमा समिति गठन भएको छ।

प्रारम्भिक दृष्टिकोणमै प्रहरीको आचरण विपरितको कार्य भएको देखिएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालयले एसपी नारायण रञ्जितकारको नेतृत्वमा ३ सदस्यीय टोलीलाई जिम्मेवारी दिइएको छ।

यो विषय विवादमा आएपछि प्रहरी महानिरिक्षक (आईजी) दीपक थापाले छानबिनका लागि निर्देशन दिएका थिए। 

उनले निर्देशन दिनासाथ समिति गठन भएको हो। समितिले विहीबारबाट काम थालेको छ। आईजी थापाले छानबिनका लागि निर्देशन दिएको बताएका थिए।

आर्थिक विषयमा छानबिनका लागि भन्दै सप्तरीका एसपी ढकेन्द्र खतिवडा यसअघि नै जिम्मेवारीबाट हटाइएका छन्। त्यसपछि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीएसपी जितेन्द्रकुमार बस्नेत आफैं विवादमा तानिएका छन्।

बलात्कारको मुद्दामा सफाइ पाएको दोस्रो दिनमा राजविराज नगरपालिका–६ का आदर्श अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक मनिष श्रेष्ठसँग देखिएका थिए। उनको जन्मदिन भन्दै डीएसपी बस्नेत कोठामा पार्टी गरेको केकसहितको तस्बिर सार्वजनिक भएको थियो।

यो घटनामा प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिलले २० कात्तिक २०८१ मा अदालतमा मुद्दा दायर गरेको थियो। ४ जेठमा जिल्ला न्यायाधीश रोमनाथ अधिकारीको इजलासले सफाइ दिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध