नेभिगेशन
अर्थ विविध

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रूपैयाँ सङ्कलन गरेको छ । कार्यालयले चालू आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रूपैयाँ रकम खर्चिएको छ । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६.४३ प्रतिशत रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए । त्यस्तै, दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रूपैयाँ रकम प्राप्त भएको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा ११.२३ प्रतिशत छ ।

त्यसैगरी फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब ७८ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ । मेसिनरी तथा पार्टपुर्जा आयातबाट पाँच अर्ब २६ करोड रूपैयाँ सङ्कलन गरेको छ । इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ६७ करोड रूपैयाँ सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए ।

चालू आवकै ११ महिनामा सबै प्रकारका कपडा आयातबाट तीन अर्ब ६ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ । सोही अवधिमा सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट दुई अर्ब ५८ करोड रूपैयाँ , शृङ्गारका सामान आयातबाट दुई अर्ब ५२ करोड रूपैयाँ , प्लास्टिकका कच्चापदार्थ आयातबाट रु दुई अर्ब ३२ करोड तथा अन्य लुब्रिकेटिङ आयलको आयातबाट दुई अर्ब १९ करोड रूपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

नेपालका धनी गभर्नर