नेभिगेशन
राजनीति

कांग्रेसले भन्यो–यसरी सदन कति दिन चल्छ ? शंकाको सुविधा त दिनुस्

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरण सम्बन्धमा छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन समितिलाई शंकाको सुविधा दिएर संसद् सुचारु गर्न आग्रह गरेको छ । आज (मंगलबार) को प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले गठन गरेको छानबिन समितिलाई शंकाको सुविधा दिएर हेर्न आग्रह गरेका हुन् ।

‘गृहमन्त्रीले प्रष्ट रूपमा संसदमा राखिसक्नु भएको छ । भिजिट भिसाबारे अख्तियारले छानबिन गरिरहेको छ। अख्तियारमाथि अविश्वास गरेर अर्को आयोग बन्न सक्दैनथ्यो । संरचनागत त्रुटि सच्याएर जानका लागि यो समिति निर्माण भएको छ,’ घिमिरेले भने, ‘संसद् बहिष्कार गरेका साथीहरूलाई भन्न चाहन्छु–यही हो संसदीय अभ्यास ? सरकारलाई विश्वास गर्नु पर्दैन ? शंकाको सुविधा दिएर हेर्नुस्। यसरी कति दिन सदन चल्छ ?’

नेपाल सरकारका पूर्व सचिव शंकरदाश वैरागी नेतृत्वमा गठन भएको छानबिन समितिप्रति विरोध जनाउँदै रास्वपाले संसद्को बैठक बहिष्कार गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने समिति गठनप्रति समर्थन जनाउँदै निष्पक्ष काम गर्न आग्रह गरेको थियो । सरकारले सोमबार भिजिट भिसा प्रकरणको छानबिनसहित संरचनागत सुधारका लागि सुझाव दिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभाबाट बजेट पारित