नेभिगेशन
राजनीति

सरकारले गृहमन्त्रीहरूलाई उन्मुक्ति दिन ढाकछोप समिति बनायो : राप्रपा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणबारे गठित उच्चस्तरीय अध्ययन तथा छानबिन समितिप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा आफ्नो धारणा राख्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले छानबिन समितिलाई दूधको साक्षी बिरालोको संज्ञा दिए ।

गृहमन्त्री रमेश लेखकले छानबिनका लागि समिति गठन गरेको जानकारी दिए लगत्तै आफ्नो धारणा राखेका शाहीले भने, ‘जसका विरुद्ध अध्ययनका लागि समिति बनाइएको छ, आफ्नो अनुकल हुने गरी समितिमा पूर्व र वर्तमान कर्मचारीहरु राखेर कस्तो अध्ययन र छानबिनको कल्पना गरिएको हो ? पहेँंलो हो भन्दैमा सबै सुन हुँदैन । पछिल्लो १८ वर्षमा बनेका १४ जना गृहमन्त्रीलाई उन्मुक्ति दिने उद्देश्यले मात्र यो ढाकछोप समिति गठन भएको हो । यो प्रोपोगाण्डा मात्रै हो ।’

प्रमुख सचेतक शाहीले बेचिएका नागरिक राप्रपा र रास्वपा समर्थक मात्र नरहेको चर्चा गर्दै यसलाई संख्याका आधारमा ढाकछोप गर्ने काम नगर्न आग्रह गरे । १४ जना गृहमन्त्रीहरुलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गर्दै उनले संसदभित्र रहेका सबै दललाई एकजुट हुन अपिल पनि गरे । उनले भने, ‘संख्याका आधारमा यो मुद्दालाई निस्तेज नपारियोस् । यो मान्छे बेच्ने प्रक्रिया हो । अन्यथा देशमा रोजगारी नपाए पनि विदेशमा बेचेर कमाएको रगतको श्राप लाग्नेछ । यो दल विशेषको कुरा हैन, मानवताको कुरा हो । एकजुट होउँ । गृहमन्त्रीले बनाएको समितिमा आपत्ति छ । यसले अपराधिकरणलाई थप प्रश्रय दिन्छ ।’ सत्ताको नशा लागेको मान्छेले आफूलाई भगवान सम्झने भएकाले यसबाट सचेत रहन उनको अपिल थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभाबाट बजेट पारित