नेभिगेशन
समाज विविध

युद्धग्रस्त इजरायलमा फँसेका बिराटनगरका मेयर कोइराला गृहनगर पुग्ने तयारीमा, कसरी मुम्बईसम्म आइपुगे?

काठमाडौं– युद्धग्रस्त इजरायलमा फँसेका बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला भारतको मुम्बई आइपुगेका छन्। 

इजरायलका सबै विमानस्थल बन्द भएपछि २६ जेठदेखि ५ असारसम्मको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका कोइराला पनि फँसेका थिए। 

इरान–इजरायल युद्ध चलेका कारण संकटकाल घोषणा भएको थियो। ज्यान जोगाउनका लागि कोइराला बंकरभित्र बस्नु परेको थियो। 

तर उनी विहीबार चार बजेसम्म काठमाडौं आइपुग्ने र साँझसम्म गृहनगर बिराटनगर पुग्ने तयारीमा रहेका छन्। 

उनले फेसबुकमा लामो जानकारी लेख्दै कसरी आउँदैछन् भन्ने अवगत गराएका छन्।

उनले भनेका छन्,‘सबै विमानस्थल बन्द भएपछि स्थलमार्ग हुँदै जोर्डन पुगें। त्यहाँबाट हवाई मार्ग हुँदै कुवेत, भारतको मुम्बई, नयाँदिल्ली हुँदै स्वदेश फर्किरहेको सबैलाई जानकारी गराउँदछु। यतिबेला म मुम्बई आइपुगेको छु। अब यहाँबाट नयाँदिल्ली हुँदै बेलुका साढे ४ बजे काठमाडौं विमानस्थलमा उत्रिएर आजै साँझ विराटनगर फर्किने योजनामा छु।’

यस्तो छ कोइरालाले दिएको जानकारी 

इजरायल सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा सहकारी र कृषि प्रविधिको प्रयोग एवं सहरी विकासको अध्ययन तथा अवलोकनका लागि गत जेठ २६ गते इजरायल गएको थिएँ । सो कार्यक्रम जेठ २७ देखि असार ५ गतेसम्म सञ्चालन हुने कार्यतालिका थियो ।

इजरायल पुगेको केही दिनदेखि सुरु भएको इजरायल–इरान युद्धले म सहभागी कार्यक्रम पनि प्रभावित हुन पुग्यो । युद्धका कारण इजरायलका सबै विमानस्थल बन्द भए । जसबाट तत्काल स्वदेश फर्किन निकै समस्या भयो । तर, नेपाल सरकारको परराष्ट्र मन्त्रालय, इजरायल सरकार र इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको सक्रियता र सहयोगका कारण स्थलमार्ग हुँदै जोर्डन पुगेर त्यहाँबाट हवाई मार्ग हुँदै कुवेत, भारतको मुम्बई, नयाँदिल्ली हुँदै स्वदेश फर्किरहेको सबैलाई जानकारी गराउँदछु । यतिबेला म मुम्बई आइपुगेको छु ।

अब यहाँबाट नयाँदिल्ली हुँदै बेलुका साढे ४ बजे काठमाडौं विमानस्थलमा उत्रिएर आजै साँझ विराटनगर फर्किने योजनामा छु । मलाई स्वदेश फिर्तीमा सहयोग गर्ने परराष्ट्रमन्त्री आरजु राणासहित नेपाल सरकार, इजरायल सरकार, राजदूत धनप्रसाद पण्डितसहित दूतावास परिवारप्रति सर्वप्रथम हार्दिक आभार व्यक्त गर्दछु ।

इजरायलमा रहँदा मेरो सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गर्नुहुने सम्पूर्ण आफन्त, साथीभाइ, इष्टमित्र, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारीसहित सम्पूर्ण पत्रकार मित्रहरुलाई विशेष आभार व्यक्त गर्दछु । विशेष गरी पत्रकार मित्रहरूले मेरो इजरायल बसाइ र सुरक्षाका विषयलाई उच्च प्राथमिकता दिएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

तत्कालै युद्ध रोकिने अवस्था नदेखिएकाले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सकुशल स्वदेश ल्याउनका लागि तत्काल प्रभावकारी पहल गर्न नेपाल सरकारको ध्यानाकर्षणसमेत गराउँदछु ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध