नेभिगेशन
मनोरञ्जन

चलचित्र विकास बोर्डद्वारा ३६ फिल्मलाई निर्माण अनुमति प्रदान

काठमाडौँ- जेठ महिनामा चलचित्र विकास बोर्डले ३६ फिल्मलाई निर्माण अनुमति प्रदान गरेको छ । यो संख्या हेर्दा फिल्म निर्माण हुने संख्यामा अघिल्लो वर्षभन्दा वृद्धि हुने देखिन्छ ।

प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर थमनकुमार भण्डारीले ‘लोभीपापी’ फिल्म निर्माण गर्नेछन् । यसको बजेट २ करोड ३० भनिएको छ ।

मरिचमान श्रेष्ठ ‘बल्छीधुर्बे’ले आफ्नो निर्देशन र निर्माणमा फिल्म ‘गोबर गणेश’ बनाउने भएका छन् । पुजन घिमिरे पुकुलाई लिएर उनले २ करोडको बजेटमा फिल्म बनाउनेछन् ।

किरण नेपालीले २ करोड ९० लाखको बजेटमा फिल्म ‘महारानी’ बनाउनेछन् । यसको निर्देशन मुस्कान ढकालले गर्ने जनाइएको छ ।

‘पूर्णबहादुरको सारंगी’का निर्माता प्रतीक सुवेदी ‘प्याट्रिक’ले २ करोडको बजेटमा फिल्म ‘पाण्डेको वान डे’ बनाउनेछन् । यो फिल्मबाट पटकथाकार महेश दवाडीले डेब्यु गर्दैछन् ।

वरिष्ठ चिकित्सक तथा गीतकार भोला रिजालका छोरा कपिलले दोस्रो फिल्म ‘छलकपट’ निर्देशन गर्नेछन् । यसको बजेट २ करोड ५० लाख तय छ ।

भुवन केसीले २५ लाखमा अनमोल केसीलाई लिएर ‘बाटुलो जुन’ निर्देशन गर्नेछन् । यसको निर्माण जियाले गर्नेछिन् । यो फिल्ममा अनमोल र प्रिन्सी खतिवडा कलाकारमा तय छन् ।

नीता ढुंगानाले २ करोड बजेटको ‘एक दुई तीन’ र २ करोड १० लाख बजेटको ‘सुखदु:ख’ बनाउनेछिन् ।

गणेशदेव पाण्डेले ३ करोड बजेटको ‘पारी बुटोल’ निर्देशन गर्नेछन् । चेतन आङथुपोले १ करोड १० लाख ‘दारासिङ’ बनाउनेछन् ।

प्रचण्डमान श्रेष्ठले ५७ लाखको फिल्म ‘जयन्ती’ र ६३ लाख बजेटको ‘पथलैया’ निर्माण एवं निर्देशन गर्नेछन् । सवीन श्रेष्ठले १ करोडमा पथलैया बनाउनेछन् ।

केकी अधिकारीले दुई फिल्म ‘भद्रकाली’ र ‘राधापियारी’को लागि निर्माण इजाजत लिएकी छन् । पछिल्लो फिल्मको बजेट ४२ लाख ५० हजार भनिएको छ ।

५ करोड ४० लाखको बजेटमा अरुण स्याङ्तानले फिल्म ‘तथास्तु’ निर्माण गर्ने भएका छन् । पूजना गुरुङले २ करोड बजेटको फिल्म ‘क्याप्टेन कालिका’ निर्देशन गर्ने भएकी छन् ।

१ करोड २० लाखको बजेटमा भवानी संग्रौलाले ‘आहुति २’ निर्माण र निर्देशन गर्ने भएका छन् । यो फिल्मबाट मोडल अञ्जली अधिकारीले डेब्यु गर्दैछिन् ।

आशीर्वाद क्षेत्रीलाई शीर्ष भूमिकामा लिएर कृष्ण विकले १ करोड ६५ लाख रुपैयाँमा फिल्म ‘गैरीखेत’ निर्देशन गर्ने भएका छन् ।

नवीन पन्तले २ करोड बजेटमा ‘बाकस’, हिमाल न्यौपानेले ९९ लाखमा तलिसा गुरुङलाई हिरोइनमा लिएर फिल्म ‘सतिघाटु’ निर्देशन गर्ने भएका छन् ।

प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर सुदर्शन थापाले २ करोडमा ‘शुभविवाह’ निर्देशन र निर्माण गर्नेछन् । थापाले डेढ करोड बजेटमा अर्को फिल्म ‘चालिस कटेसी रमाउँला’ पनि बनाउनेछन् ।

अमित अग्रहरिले साढे २ करोडको बजेटमा फिल्म ‘इट्टा भट्टा’ बनाउनेछन् । अग्रहरिले डेढकरोड बजेटमा ‘चिट्ठा’ बनाउने जनाएका छन् । घनश्याम लामिछानेले १ करोड २५ लाखमा फिल्म ‘लुछाचुँडी’ बनाउने भएका छन् ।

जेठ महिनामा मात्र ३६ फिल्ममार्फत ५२ करोड लगानी निश्चित भएको छ । बैशाखमा १८ फिल्म निर्माण इजाजत लिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्