नेभिगेशन
समाज विविध

न्यायाधीशमाथि मोसो प्रहारको न्यायाधीश समाजद्वारा विरोध

काठमाडौं- उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले विरोध गरेको छ।न्यायाधीशमाथि भएको दुर्व्यवहारप्रति निजामती कर्मचारी सम्वद्ध ट्रेड युनियनहरूले आपत्ति जनाएका हुन्।

हिजो उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुशीप्रसाद थारूमाथि नेकपा बहुमतका कार्यकर्ताले मोसो छ्यापेर दुव्र्यवहार गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन र युनियन विभागीय समितिले संयुक्त विज्ञप्ति निकालेर घटनामा संलग्नलाई कानूनको दायरामा ल्याई हदैसम्मको कारबाहीको माग गरेका छन्। ‘न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानूनी हक हुने व्यवस्था हुँदाहुँदै गैर कानूनी चरित्र एवम् मोसो छ्याप्ने जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो’, विज्ञप्तिमा भनिएको छ।

श्रीप्रसाद पौडेल र जोदासिंह कठायतको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्ता क्रियाकलाप नदोहोरिन खबरदारीसहित भयरहितरूपमा न्याय सम्पादनको वातावरणका लागि आग्रह गरेका छन्। विहीबार नेकपा (बहुमत) का कार्यकर्ताहरु उच्च अदालतको बीरगञ्ज इजलासमा गएर न्यायाधीशहरु थारु र महर्जनमाथि मोसो छ्यापेका थिए । ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्वद आफ्ताव आलम लगायतलाई सफाई दिएको भन्दै उनीहरुले इजलासमै न्यायाधीशहरुमाथि दुर्व्यवहार गरेका थिए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध