नेभिगेशन
राजनीति

भिजिट भिसा प्रकरणमा लिखित प्रतिबद्धताका लागि काँग्रेस-एमाले तयार

काठमाडौँ- भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेस तयार भएका छन् ।

प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए संसद् खोल्न तयार रहेको बताएका थिए ।

सोही अनुसार नेकपा एमाले र काँग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो ।

सो छलफलमा लिखित प्रतिबद्धता जाहेर गर्ने काँग्रेस र एमालेका प्रमुख सचेतकहरूले बताएको स्रोतले जानकारी दिएको छ ।

प्रतिपक्षी दलहरूको प्रस्तावमा सत्ता पक्षले छलफल गर्नुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक साढे ५ बजेसम्मका लागि सरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति