नेभिगेशन
राजनीति

प्रतिनिधि सभामा तमासा छः २० सांसद ४० मार्सल, सभामुख घिमिरेको नीति बन्यो ‘पेलपाल’

तत्कालिन माओवादीका सांसद उमेश यादवले त कुर्सी नै तोडफोड गरे। तर, उनलाई पार्टीले त्यसको उपजमा उपमहारमा मौका पाउनासाथ मन्त्री बनाइदियो

काठमाडौं– ‘शरिर गले पनि हाम्रो विवेक गलेको छैन’, प्रतिनिधि सभामा साढे तीन घन्टासम्म बेलअघि बस्दै उठ्दै अनि नारा लगाउँदै थकित भएपछि निस्किएकी रास्वपा सांसद सोबिता गौतम भन्दै थिइन्,‘यसरी बिरोधबीच सदन चलाउने कुन परम्परा बसिराखेको छ?’

त्यसो त यो प्रश्न सदनभित्र पनि उठेको थियो। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सभामुखको भूमिकामाथि नै प्रश्न उठाए। ‘यस्तो अवस्थामा कसरी छलफलमा सहभागी हुन सकिन्छ? बजेटबारेको छलफल यसरी गर्ने हो?’, उनले भनेका थिए। 

सभामुख देवराज घिमिरेले साहलाई विषयकेन्द्रित भएर बोल्नका लागि ब्याख्यासहित निर्देश गरेका थिए। यसले के बुझिन्छ भने घिमिरेले बेलअघि रहेका रास्वपाका २० सांसदलाई ४० मार्सलले घेर्न लगाउने र पेलेरै सदनलाई अगाडि बढाउने नीति लिएका छन्।

‘सांसदले बिरोध गर्दाखेरी त्यसको समाधान खोजिने हो कि पेलेर जाने हो? सभामुखले अभिभावकको भूमिका निर्वाह गर्न सक्नुभएन’, रास्वपा सांसद मनिष झा भन्दैथिए,‘हामीले छानबिन समिति र गृहमन्त्री रमेश लेखक पनि यसमा संलग्न रहेका कारण अनुसन्धान हुनुपर्छ भनेका हौं।’

हुन त रास्वपालाई पेल्ने नीति नै रहेको कांग्रेसका दुई जनाको भनाईले पनि पुष्टि गरेको थियो। प्रमुख सचेतक श्यामकुमार घिमिरेले जसका नेता नै जेलमा छन् तिनले नैतिकताको पाठ पढाउन नमिल्ने बताएका थिए। 

त्योभन्दा एक कदम अगाडि बढेर अर्की सांसद नगिना यादवले त रास्वपाका सांसदलाई ‘गन्हाएका’ समेत भन्न भ्याइन्। उनले भनेकी थिइन्,‘जसका नेता नै नागरिकता र पासपोर्टदेखि सहकारी ठगीसम्म गन्हाएका छन्। त्यस्तै गन्हाएका छन् बिरोध गर्नेहरु पनि।’

प्रतिनिधि सभामा देखिएको यो पहिलो परिदृश्यचाहिँ होइन। यसअघि बनेको संविधान सभा र व्यवस्थापिका सदनको भूमिका होस् या प्रतिनिधि सभा यस्ता हंगामा र अमर्यादित काम हुँदा सभामुखले पेलेरै जाने नीति अख्तियार गरेकै हुन्। 

तत्कालिन माओवादीका सांसद उमेश यादवले त कुर्सी नै तोडफोड गरे। तर, उनलाई पार्टीले त्यसको उपजमा उपमहारमा मौका पाउनासाथ मन्त्री बनाइदियो। 

यसअघिका सभामुख अग्नी सापकोटाले पनि एमालेलाई लामो समय पेलानमा राखे। एमालेले कारबाही गरेको भनी पठाएको सांसदलाई उनले कारबाही गरिदिएनन् र पार्टी विभाजन भएको थियो। 

अहिले घिमिरेले पनि फरक विषय भए पनि पेलेर जाने नीति लिएका छन्। माओवादीले सत्ता समीकरणलाई साथ दिएपछि रास्वपा एक्लियो भने राप्रपाले पनि काँध नथापिदिँदा सभामुखलाई पेल्न सहज भयो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति