नेभिगेशन
राजनीति

रास्वपाले त्यसो गरेन भने माओवादीलाई काँध थापेर सदन खुलाउँदैछन् कांग्रेस–एमाले

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले विहीबारदेखि प्रतिनिधि सभामा बजेटमाथिको छलफललाई निरन्तर चलाउने दाबी गरेका छन्।

सदन बन्द हुँदा बजेटमाथि छलफल हुन सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संगठीत संलग्नताको माग राखी प्रतिपक्षको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सदनमा अबरोध जारी गर्ने मुख्य मध्यको एक दल हो। 

तर, गृहमन्त्री लेखकको राजीनामाबाट प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र ब्याक सरेको छ। रास्वपाले गृहमन्त्रीको राजीनामाको अडान नछाडे माओवादीलाई साथमा लिएर सत्तारुढ दलले सदनलाई सुचारु गर्ने योजना बनाएको हो।

जेठ १५ गतेको बजेट घोषणाबाहेक अगाडिका केही दिन र त्यसयता प्रतिनिधि सभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको छैन। बुधबार पनि अन्तिम समयसम्म सहमतिको प्रयास गर्दा पनि सदनमा अवरोध कायम रहेको थियो।

सभामुख देवराज घिमिरेले विहीबारका लागि सदनको बैठक सारेका थिए।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार गृहमन्त्रीले राजीनामा दिने वा छानबिन समिति बन्ने भन्ने कुरो सुरुदेखि नै खारेज गर्दै आएकाले त्यसो हुन सक्तैन।

‘त्यो विषयमा छलफल नै हुन सक्दैन र हामी तयार पनि छैनौँ’, उनले भनेका छन्,‘एउटा संवैधानिक आयोगले अनुसन्धान गरिरहेको विषयमा समानान्तर समिति बन्न सक्दैन भन्नेमा हामी प्रष्ट छौँ र विपक्षीहरूसँगको बैठकमा पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।’

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पार्टीले प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावमा सत्ता पक्षबाट धारणा नआइसकेको बताउँछन्।

उक्त प्रस्तावमा उच्चस्तरीय छानबीन समिति बनाउनेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी नेपाल सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने जस्ता बुँदाहरू समेटिएका थिए। त्यसमा गृहमन्त्री लेखकको राजीनामा पनि रास्वपाको प्रमुख मागमा पर्छ।

त्यसअघि माओवादीले भिन्दै प्रस्तावको मस्यौदा गरेको थियो। त्यसको मस्यौदा माओवादीका शक्ति बस्नेतले तयार पारेका विवरणहरू आएका थिए। अहिले सत्तारुढ दल र माओवादीबीच सोही मस्यौदामा छलफल भइरहेको बताइएको छ।

रास्वपाका पनि चार वटा मागमा सत्ता गठबन्धन तयार हुन सक्ने ठाउँ रहे पनि समिति गठनसँगै गृहमन्त्री लेखकको राजीनामा अस्वीकार्य हुने र त्यसै कारणले अवरोध गर्न खोजिए माओवादीको साथ लिएर सदन सुचारुको तयारी भएको बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

विपक्षी दलहरूको बैठक जारी