नेभिगेशन
समाज विविध

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

काठमाडौँ- शुक्लाफाँटा नगरपालिका-१ बन्साहका गणेश पन्तको घरमा आज दिउँसो आगलागी हुँदा रू १५ लाख बढीको क्षति भएको छ । भान्साकोठामा खाना पकाउन राखिएको ग्यास चुहावट भई आगलागी भएको हो । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आगलागीबाट घरभित्र र पसलभित्र राखिएको नगद रु एक लाख १० हजार, सुन, लत्ताकपडा, खाद्यान्न, फर्निचर, फ्रिजलगायतमा गरी रु १५ लाखको क्षति भएको छ ।

आगलागी भएको जानकारी पाइएपछि नगरपालिकाको दमकलको सहायताले प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाले आगलागीमाथि नियन्त्रण गरेको प्रहरी निरीक्षक बस्नेतले बताए। समयमै आगलागी नियन्त्रण हुँदा मानवीय, पशुचौपायामा क्षति हुन नपाएको उनले बताए । 

वडा अध्यक्ष उत्तरदेव भट्टका अनुसार आगलागी पीडित परिवारलाई वडाका तर्फबाट चामल, नुन तेल, दाल, चाउचाउ, भुजालगायत गरी रु पाँच हजार बरावरको सहयोग गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीसँग समन्वय गरिएको उल्लेख गर्दै उनले भाँडाकुँडा, लत्ताकपडा उपलब्ध गराउनका लागि पहल गरिएको बताए । अहिले घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध