नेभिगेशन
सुरक्षा–अपराध

६० किलो सुन तस्करी प्रकरणः अदालतको हाजिर हुने सूचना, नआए फैसलासहित रेड कर्नरसम्म 

काठमाडौं– त्रिभुवन विमानस्थलबाट तस्करी गरी बाहिर निकालिएको तर राजश्व अनुसन्धान विभागले पक्राउ गरी पछि केन्द्रीय अनुसन्धा ब्यूरो (सीआईबी)ले छानबिन गरेको ६० किलो सुन प्रकरणमा जिल्ला अदालत काठमाडौंले १९ जनालाई हाजिर हुन सूचना जारी गरेको छ।

नेपालीसहित चिनियाँ र भारतीय नागरिकका नाममा समेत जारी गरिएको ३५ दिने सूचनाअनुसार अदालतमा हाजिर नभए फैसला प्रक्रियामा दोषी हुने र रेड कर्नर नोटिस जारी गर्न सहज बनाइदिने तयारी छ। 

यसो हुँदा विदेशमा लुकेका तस्करीमा संलग्न भएका नेपाली नागरिकलाई मुलुक झिकाउन सजिलो हुनेछ भने विदेशीलाई पनि कालोसूची, तस्करीमा राख्न सहज हुनेछ।

सोमबार अदालतले १९ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको तर अहिलेसम्म पनि मुद्दाको सुनुवाइमा नआएको भन्दै ३५ दिनको सूचना जारी गरेको थियो।

अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फछ्र्यौट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा सीआईबीले २०८० भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

दोस्रो चरणको अनुसन्धानमा ४६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा २०८१ असार १८ गते मुद्दा दायर गरेको सीआईबीले त्यतिबेला जम्मा २० जना पक्राउ परेका थिए। २६ जना फरार थिए।

यसबीचमा अहिले १९ जना भने बेपत्ता भएपछि सूचना जारी गरिएको हो। यो सूचना नै अदालतको फैसला प्रक्रियाको पहिलो कडी हो।

अदालतले १९ जनाको नाममा पक्राउ पुर्जी भएर पनि बेपत्ते तामेल भएर आएको भन्दै जेठ ११ गते पक्राउ पुर्जीको सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो। 

सूचना जारी भएकामा चिनियाँ नागरिकहरू लुरोङ गोङ्बु, वाङ दाओजिङ, पेङ योङसिन, झोङ जियानहुवा, हेनेरी भन्ने झोङ जिङचुआन र पिङ लिङफेङ छन्।

नेपाली नागरिकहरूमा सिन्धुपाल्चोकका राम गुरूङ, झापाका लेखनाथ कार्की डोली, दोलखाका कुमार भुजेल, दोलखाकै विकेन्द्र भुजेल र पर्वतका जिवनकुमार गुरूङविरूद्ध पनि पुर्जी छ।

भारतीय नागरिकहरू अभिजित तानाजी मुलिक, माही भन्ने अगोल कलप्पा कुटे र कमलकान्त कुल्थियाविरूद्ध पनि पुर्जी जारी छ।

काभ्रेका पाल्साङ लामा, बर्दियाका जिवन चलाउने, दोलखाका दिलिप भुजेल, उदयपुरका भिमबहादुर मगर र भारतका टासी शेर्पालाई हाजिर हुन आउन अदालतले सूचना प्रकाशन गरेको हो। 

ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएको थियो। पछि परिणाम जाँच्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको थियो। दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको खुलेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ

दुर्गा पनि पुगे डिल्लिबजार जेल